सोलार पम्पले तरकारी खेतीप्रति आकर्षण



हेमन्त पौडेल, फूलबारी, कैलाली

साविकको फूलवारी गाविस खेदा वस्तीका स्थानीय बासिन्दाहरू तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। गरिबि निवारण कोषको आर्थिक सहयोग र स्थानीय गैरसरकारी संस्था सिसिएसको समन्वयमा निर्माण गरिएको सोलार पम्पले सिँचाई सुविधा भएपछि सो वस्तीका मानिसहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन।

खेदा र पुरानो फूलवारीमा गरेर ४५ थान सोलार पप्पहरू जाडान गरेको गरिबी निवारण कोष कैलालीका कार्य प्रवन्धक माधव डाँगीले बताउनुभयो। अहिले किसानहरूले आफूसंग भएको जमिनमा तरकारी खेती गरिरहेकाछन्। दुई कठ्ठादेखि १० कट्ठा सम्म जमिन भएकाले तरकारी खेती गरिरहेकाछन्। स्थानीय जनचेतना सामुदायिक संस्था गठन गरेर सोलार पम्पको काम सञ्चालन गरिएको सिसिएसकी सामाजिक परिचालिका कान्ति जोशीको भनाई छ।

गत मंसिर तिर निर्माण गरेको सोलार पम्पले किसानहरूमा खुसि ल्याएको स्थानीय रत्ना चौधरीले बताउनुभयो। सोलार पम्पबाट पानीको ब्यवस्था हुन थालेपछि सो क्षेत्रका स्थानीयले पहिलेभन्दा धेरै तरकारी उत्पादन थालेका हुन्।

गत वर्ष यो सिजनमा सुख्खा देखिने खेदा वस्तीमा यस पटक भने हरियाली देखिएको छ। किसानहरूले खेतमा गोभी,करेला,लौका,तरभुजा,काँक्रा लगायतको तरकारी उत्पादन गरेकाछन्। किसानको घरघरमा तरकारी प्रसस्तै फलाएकाछन्।

आर्थिक अवस्था कम्जोर भएको सो वस्तीमा सोलार पम्प जडान गरेर सिँचाईको ब्यवस्था गरेपछि तरकारी खेतीमा लागेका किसानहरूले आफ्नै घर खर्च चलाउने सजिलो भएको स्थानीय बासिन्दा अशोक चौधरीले बताउनुभयो। दैनिक मजदुरी गरेर घर खर्च चलाउने खेदाका स्थानीयहरू अहिले तरकारी विक्री गरेर राम्रो आम्दानी गरिरहेको रत्ना चौधरीको भनाई छ। यो सिजनमा मात्रै आफूले करिब २० हजार भन्दा बढीको तरकारी विक्री गरेको उहाँले बताउनुभयो। अहिलेपनि आफ्नो बारीमा बन्दागोभी,करेला र काँक्राहरू रहेको रत्नाले जानकारी दिनुभयो।

भारतमा गएर सस्तो मजदुरी गर्ने महिलाहरू यतिबेला आफ्नै खेतवारीमा काम गरेर तरकारी फलाई रहेकाछन्। सस्तोमा श्रम बेच्नुपर्ने र भारतीयहरूको अमानवीय ब्यावहार खेप्नुपर्ने बाध्यता यस पटक देखि कम भएको स्थानीय बासिन्दा खुशीराम चौधरीले बताउनुभयो। सो क्षेत्रका महिलाहरूले अब ब्यावसायिक तरकारी खेती गर्ने योजनामा रहेकाछन्। गरिबि निवारण संघ र सिसिएसले किसानले उत्पादन गरेको तरकारीको बजारको ब्यवस्थाकालागि पहल गर्ने बताएपछि किसानहरू झन उत्साहि बनेकाछन्।

६ महिना अघि र अहिलेको आर्थिक अवस्थामा सुधार आएको गुलावी चौधरीले बताउनुभयो। दुःख विरामी हुँदा गाँउघरमा सरसापटी पाउनै गाह्रो हुने अवस्थाबाट अहिले सामान्य खर्चपानीकालागि कसैसंग माग्नुपर्ने अवस्था नरहेको चौधरीले बताउनुभयो। खदामा हाल करिब १ सय ५५ घर परिवार बस्दै आएका छन्।

मोहना नदीको कटानले प्रभावित बस्ती बचाउनका लागि सरोकारवाला निकायसंग आग्रह गर्दै आएका छन्। हाल सो क्षेत्रमा पहलो चरणको तटबन्धको काम शुरू भएको छ। सो क्षेत्रको करिब ५० विगाह जमिन नदी कटान गरेर बगरमा परिणत गरेको छ।

प्रतिक्रिया दिनुहोस्