आईपीएल प्लेअफमा खेल्ने टोलीको टुंगो



नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत १०औं संस्करणमा प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ।

आइतबार किंग्स इलेभन पन्जाबलाई सहजै ९ विकेटले हराएपछि राइजिङ पुणे सुपरजायन्टले चौथो टोलीका रूपमा प्लेअफमा स्थान बनाएको हो। यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। यस खेलमा जितेको टोली प्लेअफमा पुग्ने समीकरण थियो। तर पन्जाबको टोली १५ दशमलव ५ ओभरमा ७३ रनमा अलआउट भएको थियो। यो स्कोरसँगै पन्जाबको प्लेअफमा पुग्ने आशा समाप्त भइसकेको थियो।

पन्जाबले अघिल्ला दुई खेलमा झैं शानदार खेल पस्कन सकेन। टोलीका लागि अक्षर पटेलले बनाएको २२ रन नै सर्वाधिक योगदान बन्यो। टोली कप्तान ग्लेन म्याक्सवेल र मार्टिन गप्टिलले खातासमेत खोल्न पाएनन्। पुणेका बलरमा शार्दूल ठाकुरले तीन विकेट लिए भने जयदेव उनादकट, एडाम जाम्पा र डेनियल क्रिस्टियनले २⁄२ विकेट हात पारेका थिए।

जवाफमा पुणेले ७४ रनको लक्ष्य एक विकेट गुमाएर १२ ओभरको अन्तिम बलमा भेटाएको थियो। आजिन्क्य रहाणेले म्याक्सवेलको बललाई छक्का प्रहार गर्दै पुणेको जित पक्का गरे। रहाणे ३४ रनमा र कप्तान स्टिभ स्मिथ १५ रनमा नटआउट रहेका थिए। यसअघि राहुल त्रिपाठी २८ रन बनाएर पटेलको बलमा आउट भएका थिए।

अघिल्लो दिन मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ९ रनले हराएर शीर्ष स्थान हात पारेको थियो। प्लेअफमा स्थान बनाइसकेको दुवै टोलीबीच शीर्ष स्थानका लागि भिडन्त भएको थियो। इडेन गार्डेनमा भएको खेलमा मुम्बईले १ सय ७३ रनको लक्ष्य राखेको थियो। कोलकाता लक्ष्यनजिक पुगेर पनि १ सय ६४ रनमै समेटिएको थियो।

मुम्बई शीर्षमा
मुम्बईको २० अंक छ भने पुणेको १८ अंक रहेको छ। इलिमेनेटरको पहिलो खेलमा मुम्बईको सामना पुणेसँग हुनेछ। त्यस्तै इलिमेनेटरको दोस्रो खेलमा हैदरावादले कोलकाताविरुद्ध खेल्नेछ। हैदरावाद १७ अंकसहित तेस्रो स्थानमा र कोलकाता १६ अंकसहित चौथो स्थानमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्