रहस्यमय बन्दै ‘मेथिन्कोट’ गोली काण्ड



मोतीराम तिमल्सिना, काभ्रे ।
मतदानको अघिल्लो दिन राति ९ बजे गोली लागी एक युवकको निधन भएपछि नमोबुद्ध नगरपालिकामा ४ मेथिन्कोट मतदान केन्द्रमा निर्वाचन हुन सकेन । स्थानीयहरुले शहिद घोषणा सहित ७ बुँदे माग राख्दै रोकेको निर्वाचन तत्काल गराउने गरी गृह मन्त्रालयले मन्त्रीपरिषद्बाट पछि अनुमोदन गराउने गरी निर्णय गरेको छ ।

आईतबार विहान स्थानीय र प्रमुख जिल्ला अधिकारीहरुको टोलीसँग भएको बार्तामा राखिएका ७ बुँदे माग पुरा गर्ने गरी गृह मन्त्रालयले पत्र पठाएको प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले बताए । ‘स्थानीयहरुले राखेका सातवटै माग पुरा गर्ने गरी पत्र प्राप्त भएको छ’–प्रजिअ सिंखडाले भने–‘धुलिखेल अस्पतालमा भएको शव तत्काल पोष्टमार्टम गरी सत्यतथ्य पत्ता लगाउन न्यायीक समिति गठन गर्नु पर्छ ।’अब रोकिएको निर्वाचन पनि केहि दिनमै गर्ने वातावरण स्थानीयले बनाउनु पर्छ, सिंखडाले भने ।

गृह मन्त्रालयले मृतक नवराज पाठकलाई शहिद घोषणा, १० लाख क्षतिपुर्ति, मृतकका छोरालाई निशुल्क शिक्षा, श्रीमतीलाई रोजगार, न्यायीक छानविन समिति गठन गर्ने निर्णय मन्त्रीपरिषद्बाट अनुमोदन गराउने गरी निर्णय गरेको छ । घरबाट केहि माथी सडकमा युवाहरुको समुहमा गफ गरेर बसिरहेका बेला लागेको गोलीले सोहि वडाका एक युवकको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी नविनकुमार राईले जानकारी दिए ।

२८ बर्षिय युवक नवराज पाठक सामान्य कृषक हुन् । उनका भाई युवराज पाठक जनक बहुमुखी क्याम्पस मेथिन्कोटका स्ववियु सचिवमा नेविसंघबाट विजयी भएका थिए । कृषक भएकाले नवराज सबै पार्टीका आमसभा, ¥याली जस्ता कार्यक्रममा सहभागिता जनाउँथे । बाबु वितेपछि सोहि जिम्मेवारी सम्हाल्दै आएका नवराजले नुवाकोटमा विवाह गरेका हुन् ।

‘४५ दिनको छोराले समेत बाबुको अनुहार देख्न पाएन’–छिमेकी प्रेमप्रसाद चिमौरियाले भने–‘नवराज गाउँकै सोझो, इमान्दार र मेहनती थिए ।’ नवराजको श्रीमती विन्दा पाठक सुत्केरी बस्न नुवाकोट गएकी छिन् । आमा ५० बर्षिय देवी पाठक बेहोस अवस्थामा मेथिन्कोट अस्पतालमा उपचारार्थ छिन् । स्थानीयहरुले उनको निधनसँगै शहिद घोषणा, न्यायीक छानविन समिति गठन, दोषिलाई कडा कारवाही, परिवारलाई उचित क्षतिपूर्ति र सन्तालाई शिक्षा, दिक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी शिव सिंखडालाई ज्ञापन पत्र बुझाएका छन् । पीडितका सबै मागहरु सम्बोधनका लागि आईतबार नै गृह मन्त्रालय पठाईएको प्रजिअ शिव सिंखडाले बताए ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्याल, प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेल लगायत जिल्लाको सुरक्षाकर्मीको टोली घटनास्थल पुगी पीडितहरुसँग वार्ता गरेका थिए । पीडितका आफन्तहरुले मागहरु सम्बोधन नभएसम्म निर्वाचन हुन नदिने माग गरेपछि तोकिएको मिति भित्र उक्त मतदान केन्द्रमा मतदान हुन सकेन । मतदान गराउन निर्वाचन कार्यालयको तर्फबाट भएको प्रयास सफल हुन सकेन । अनिश्चितकालका लागि उक्त स्थानमा निर्वाचन रोकिएको छ ।

घटना के हो ?
शनिबार साँझ नवराजपाठक, सुकदेव सिल्वाल, भुवनराज शर्मा, गणेश चिमौरिया, उत्तम शर्मा लगायतका युवाहरु गणेस्थान पिपलबोटमा चुनावी अभियानका बारेमा छलफल गरेर बसिरहेका थिए । छिमेकी प्रेमप्रसाद चिमौरियालाई नेपाली कांग्रेसका नेता इन्द्रप्रसाद दाहालको फोन आयो । आज अन्तिम दिन हो राति जे पनि हुन सक्छ छोराछोरीहरुलाई कतै नजानु भन है ? उनको फोन सकिन नपाउँदै चिमौरियाले छोराहरु खोजे । घरमा थिएनन् ।

खाना खाईसकेर तुरुन्तै छिमेकी नवराजकोमा गए । उनी पनि थिएनन । तत्काल गणेस्थान मन्दिर पुगे । युवाहरु गफिदै थिए । उनको मोवाईलमा फेरी फोन आयो । शशस्त्र प्रहरीको भ्यान पनि माथितिर गयो । कानपुर जाने सडकमा शशस्त्रको गस्ति थियो ।

शशस्त्र प्रहरीका एसपी श्याम कुँवरका अनुसार दुई पटक फायरिङ्ग भएपछि टोली सुरक्षामा निस्किएको थियो । सोहि सडक हुँदै एउटा बाईक हुईकिएर आयो । त्यो बाईक रोक्न खोज्दा मानेनन । उल्टो प्रहरीलाई ताकेर गोली हान्दा युवा नवराजलाई लाग्यो । तत्काल उपचारका लागि लैजाने काममा सहयोग गरेको उनले बताए । नवराजसँगै फोनमा कुरा गरिरहेका प्रेम प्रसाद आचार्यले गोली शशस्त्र प्रहरीले ताकेरै हानेको बताए । गोली हाने लगत्तै प्रहरीले यो गुण्डाको बाईक कहाँ छ ? भनेर सोधेको समेत बताए । ‘ म त बेहोस जस्तो भएछु, तत्काल इन्द्र दाहाललाई फोन गरें, घटना भएको ४ मिनेटमा उहाँ आउनुभयो’–उनले भने । गोली लागिसकेपछि प्रहरीले एउटा ब्यक्ति ढलेको देखेको भनेको उनले सुनेको बताए ।


उनलाई गोली लागेको घर अगाडी भुकम्पका कारण घर नभएर आँगनमै बसेर खाना खाईरहेकी सिता चिमौरियाले मोटरसाईल दौडिएर भागेको देखेको बताईन् । तर मोटरसाईकलमा आएको ब्यक्तिले हानेको गोलीले नवराजको मृत्यु नभएको बताईन् ।

‘आमा खाना पस्कँदै हुनुुहन्थ्यो, मोटरसाईकल दौडियो, तुरुन्तै ढ्याङ्ग ग¥यो, कस्तो पन्चट भयो त भन्दै थियौं गोली लागेर नवराज त ढलीसकेछन’–उनले भनिन्–‘शशस्त्रले पोज मिलाएरै गोली हानेको हो, नत्र छातीमै बाटो मुनी बसेको ब्यक्तिलाई गोली लाग्दैन ।’ घटनाको बारेमा सुरक्षा निकायले मुख खोलेको छैन । सुरक्षाकर्मीले गोली हान्नु पर्ने अवस्था समेत नदेखिएकाले रहस्यमयी भएको स्थानीयहरुले बताएका छन् ।

स्थानीयहरुले दलहरुको प्रतिस्पर्धामा अनाहकमा युवा मारिएको बताएका छन् । ‘यो अरु कसैलाई गोली हान्ने योजना थियो, नवराजलाई प¥यो’–एक स्थानीयले बताए । घटना हुनु ५ मिनेट अघि सर्तक गराउनुले पनि घटनाका बारेमा संकेत गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्