कमल थापाद्वारा मतदान



नेपाल समाचारपत्र, हेटौंडा । ऐतिहासिक महत्वको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाले मतदान गर्नुभएको छ । उहाँले विहान ७ बजेर ३७ मिनेटमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
मतदानपछि नेपाली मतदातामा अध्यक्ष थापाले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । निर्वाचनलाई एक प्रजातान्त्रिक अभ्यास भन्दै उहाँले करिव १० वर्ष लामो सशस्त्र द्वन्द्व र अर्को ११ वर्ष लामो अस्थिरता र अराजकतापूर्ण संक्रमणकालपश्चात्को चुनाव निकै महत्वपूर्ण रहेकाले मतदानमा सक्रिय सहभागी बन्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले मताधिकार प्रयोग गर्न पाउँदा आफू निकै हर्षित भएको भन्दै नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचन भएकाले ढुक्क भएर मतदानमा सक्रिय हुन उहाँले आग्रह गर्नुभयो ।
उहाँले विगत २१ वर्ष अवधिमा अवलम्बन गरिएका गलत नीति र त्रुटिपूर्ण मार्गचित्रको परिणामस्वरुप देश हाल गम्भीर संकटको चक्रव्युहमा फसेको उल्लेख गर्नुभयो । ‘यो चुनावले संकटको पूर्णसमाधान दिन सक्दैन, तर यो चुनाव निश्चय पनि संकट समाधानको दिशामा एक महत्वपूर्ण कोसेढुंगा र खुड्किलो बन्नसक्छ,’ उहाँले यस चुनावले संविधान कार्यान्वयनलाई अग्रगति प्रदान गर्ने उल्लेख गर्नुभयो ।

मुलुकमा न्यूनतम शान्ति, स्थायित्व र प्रजातान्त्रिक वातावरण तयार गर्न यस चुनावले महत्वपूर्ण योगदान दिने भन्दै थापाले चुनावको सफलताले दोस्रो चरण चुनावलाई सहज तुल्याउने बताउनुभयो ।
‘तसर्थ, विगतका कहालीलाग्दो अवस्थालाई समीक्षा गर्दै पार्टीको निहीत स्वार्थभन्दा माथि उठेर र राष्ट्रलाई केन्द्रविन्दुमा राखी विवेकपूर्णढंगले मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सादर अपिल गर्दछु,’ उहाँले भन्नुभयो– मतदान नागरिकको अधिकारमात्र होइन, कर्तव्य पनि हो ।

नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरका मेयर उम्मेदवार हरिबहादुर महतले पनि सोही केन्द्रबाट विहान साढे ७ बजे मतदान गर्नुभएको छ ।

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आज बिहान मतदान गर्नुभएको छ ।

जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइरहेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्