कृष्णादेवीको आधा आकाशमा नारीवाद

10

टीका पोख्रेल
‘एक सय आठ विभिन्न नैवेद्यमध्ये सय–सय आफूले खाने अनि आठ–आठ श्रीमान्लाई दिने, श्रीमान नहुनेले छोरालाई दिने, छोरा नहुनेले मितछोरालाई दिने, मितछोरा नहुनेले गंगामा लगेर बहाइदिने।’ स्वस्थानी व्रतकथाको यस प्रसंगले आन्दोलनको मनमा आन्दोलनको सूत्रपात भएको छ। श्रीमान् नभए छोरा, छोरा नभए छोरीलाई प्रसाद दिनू भन्न नसकेर गंगामा पुर्याउन अराउने हाम्रा धर्मशास्त्रका कुरा कति वैज्ञानिक होलान् ?

एउटी नारीले नारीकै आराधना गरेर प्रसाद अर्की नारीलाई नदिई नदीमा पुर्याउनु धर्मको नाममा नारीप्रतिको अपमान हो, शोषण हो। आन्दोलनले आमालाई स्वस्थानी पढेर सुनाउँदै गर्दा यी कुराबाट आफू स्वयंं मानित भएको ठान्दछे। उसको मनमा यस्तो नलागोस् पनि कसरी ? घर–परिवारदेखि धर्मशास्त्रसम्मका हरेक कुरामा नारी र पुरुषबीच असमान व्यवहारहरु सुन्दै र भोग्दै आएकी छे।
सुकन्या यौनपिपासु पुरुषको घेराबन्दीमा परेर आफ्नो परिवार त्यागी एक्लो जीवन जिउन बाध्य छे, तर हिम्मत भने कहिल्यै हारेकी छैन, कर्तव्यबाट पन्छिएकी छैन। बरु आफ्नी छोरी आन्दोलनलाई हरेक परिस्थितिसँग लड्ने ऊर्जा दिइरहेकी छे। सुस्मिता शिक्षित हुँदाहुँदै पनि बेचिन पुगेकी छे। यस्तो कुकर्म नारीहरुबाटै भएको देखाइएको छ। नारी नै नारीको दुश्मन वा हिंसाको कारण बनिरहेको प्रसङ्ग यस उपन्यासमा आएको छ। यसबाट प्रस्ट हुन्छ– नारी–नारीबीच जबसम्म एकता हँुदैन तबसम्म नारी र पुरुषमा समानताको कुरा गर्नु अर्थहीन रहन्छ।

नारीमाथि भइरहेका विभिन्न किसिमका शोषणलाई आन्दोलनले एक–एक गरी सम्झेकी छे भने यी सबै शोषणबाट मुक्त हुन नारी एकता हुनुपर्ने कुरातर्फ सबै नारीलाई सचेत गराएकी छे। आन्दोलनलाई दिदी सुस्मिताले नारी मुक्ति आन्दोलनमा पूर्ण सहयोग गरेको देखिन्छ। यस उपन्यासकी सशक्त नारी पात्र सुस्मिताले नेपालभरिका नारीहरुको प्रतिनिधिमूलक सहभागिता गराएर नारी मुक्तिका लागि सबै बीच छलफल गरी २२ वटा एजेन्डा पारित गर्दै संविधानसभासम्म पुर्याउन सहमति जुटाएकी छिन्।

मध्यनेपाल कावासोतीलाई केन्द्रविन्दु बनाएर महिलाहरुको राष्ट्रिय भेला गरी सशक्त आन्दोलनको शुरुवात गरिएको यो उपन्यास नारीवादी उपन्यास हो। यस उपन्यासले नारीमाथि हुने गरेका सबैखाले हिंसाको भण्डाफोर गरेको छ। नारी र पुरुषबीच हुने विभिन्न असमान व्यवहार औंल्याएको छ, नारीप्रतिको दृष्टिकोण र व्यवहारलाई छर्लङ्ग पारेको छ। विषम परिस्थितिबाट भाग्ने लाचार पुरुष प्रवृत्तिको विरोध गरेको छ। यति मात्र होइन, समानताका विरोधी महिला पात्रको पनि विरोध गरेको छ। आफ्नो सन्तान छोरा होस् या छोरी, आमाबाट समानताको शुरुवात हुनुपर्ने कुरामा जोड दिएको छ।

‘आधा आकाश’ पढ्दा लाग्छ– संसारका सबै पीडा नारीकै पोल्टामा परेका छन्, आमाबाटै हुने असमान व्यवहार, लोग्नेले दिने शारीरिक तथा मानसिक पीडा, सामाजिक तथा सांस्कृतिक विभेद, विधवाप्रतिको दृष्टिकोण, बोक्सीको आरोप, दाइजो नल्याउँदा गरिने हिंसात्मक व्यवहार, छोरी पाएको भन्दै दिइने मानसिक तथा शारीरिक यातना, बलात्कारजस्ता घटनाको वर्णनले हाम्रो सामाजिक परिवेश र महिलाप्रतिको दृष्टिकोण छर्लंग उतारेको छ। नारीको कोमलता र धैर्यताको फाइदा उठाएर समाजमा अनेकन दुव्र्यवहार भइरहेका छन्। कतिपय घटना बाहिर आएका होलान् त कतिपय भित्र नै दबिएको पाइन्छ। जबसम्म नारीले खुलेर विरोध गर्दैनन् तबसम्म यस्ता घटनाले प्रश्रय पाउँदै जान्छन्।

शुरुका समयमा सामान्य अधिकारका लागि पनि नारीहरुले धेरै समयसम्म संघर्ष गर्नुपरेको इतिहास हाम्रै अगाडि छ। सन् ८ मार्च, १९१८ देखि नारी दिवस मनाउन त थालियो तर पनि नारीहरु हिंसाबाट मुक्त भने भएका छैनन्। नारी दिवस मनाउँदैमा समान अधिकार प्राप्त हुँदैन। हामी सबैको सोच बदलिनुपर्छ, व्यवहारमा परिवर्तन आउनुपर्छ। तब मात्र नारी र पुरुषबीच समानता हुन्छ, आदर्श समाजको निर्माण हुन्छ। जुन अपेक्षा “आधा आकाश” उपन्यासले गरेको छ।

बहुमुुखी प्रतिभाकी धनी कृष्णादेवीको ‘आधा आकाश’ ११ औं कृति हो। यसभन्दा अगाडि गीतसंग्रह, कवितासंग्रह, खण्डकाव्य, गजलसंग्रह तथा महाकाव्य प्रकाशन भइसकेका छन्। सबै कृति उत्तिकै उत्कृष्ट छन्। नेपालीपन अनि मौलिकताले लपक्कै भिजेका वहाँका कृतिहरु पढ्दा आफ्नै जीवनलाई हत्केलामा राखेर अध्ययन गर्दै गरेको अनुभूति हुन्छ।

अहिलेसम्मको अन्तिम कृतिका रुपमा रहेको ‘आधा आकाश’ले नारीलाई सबल हुन, हरेक पाइलामा सचेत हुन तथा आफ्नो अधिकारको लडाइँ आफैँ लड्न हौसला प्रदान गरेको छ। यस उपन्यासले पुरुष सत्ताको विरोध मात्र गरेको छैन, समानताका विरोधी महिलाहरुप्रति पनि खबरदारी गरेको छ। त्यसैले ‘आधा आकाश’ उपन्यास नारीमुक्ति आन्दोलनको सिंगो दस्ताबेज हो, नारीवादी उपन्यास हो।

LEAVE A REPLY