नेताहरूको मौन अवधि, निवासमै हिसाबकिताब



प्रचण्ड दिनभर भेटघाटमा, देउवा बूढानीलकण्ठमा व्यस्त, ओली दिनभर बालकोट, राति तीन अस्पतालमा

मधुसूदन रायमाझी
काठमाडौं
निर्वाचनको मौन अवधिमा राजनीतिक दलका शीर्ष नेताहरूले चुनावी हिसाब किताब र भेटघाटमा नै समय बिताएका छन्। चुनावी प्रचारप्रसारको अवधि सकिएपछि राजनीतिक दलहरूले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले जित्ने आँकडाको हिसाबकिताब गरेका छन्। प्रमुख दलका शीर्ष नेताहरूले आ–आफ्नै निवासमा भेटघाटमा दिन बिताए। उम्मेदवारका प्रत्यासीहरूले आफ्नो नेता तथा कार्यकर्तालाई चुनावको तयारीका बारेमा दौडधुप गर्न समय खर्चिएका छन्।

मौन अवधि भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिनभर नै व्यस्त रहनुभयो। बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्यान्ड र श्रीलंकाको भ्रमणमा जानका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो। बिहान ११ बजे सिंहदरबारमा नेपाल प्रज्ञा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्नुका साथै ११ः३० मा सिंहदरबारमा स्थानीय विकास राज्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभयो।

त्यसै गरी मौन अवधिमा नै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको थियो। मन्त्रीपरिषद्को बैठक सम्पन्न भएपछि पनि प्रचण्डले चुनावको सुरक्षा अवस्थाका बारेमा जानकारी लिनुभएको प्रचण्डको सचिवालयले जनाएको छ।

त्यसै गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावका बारेमा जिल्ला जिल्लाका सभापति र नेताहरूसँग जानकारी दिने काममा व्यस्त हुनुभयो। देउवाका स्वकीय सचिव भानु देउवाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सभापतिज्यू दिनभर भेटघाट र चुनावको अवस्थाका बारेमा जानकारी दिने काममा नै व्यस्त हुनुभयो।’

वैशाख ३१ गते ३ ४ र ६ प्रदेशका २ सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदै छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि दिनभर आफ्नै निवास बालकोटमा व्यस्त हुनुभयो। दिनभर नै निर्वाचन हुने स्थानीय तहको अवस्थाको बारेमा बुझ्नुभएको थियो। ओलीका स्वकीय सचिव अनिस दाहालले दिनभर नै भेटघाट र चुनावी अवस्थाका बारेमा जानकारी लिनुभएको बताउनुभयो।
दिनभर भेटघाटमा बिताए पनि ओली साँझ बिरामी भेटन अस्पताल जानुभएको थियो। दाहालका अनुसार ७ः३० बजे हृदयघाटबाट अस्पतालमाा भर्ना भएका केशव बडाललाई भेट्न मनमोहन कार्डियोमा, ७ः४५ मा दोलखा घटनाका घाइतेलाई भेट्न टिचिङ अस्पताल र ८ बजे बम बिस्फोट भएर घाइते भएकालाई भेटन ट्रमा सेन्टरमा जानुभएको थियो।

प्रतिक्रिया दिनुहोस्