युनाइटेड र आयाक्स भिड्ने



लन्डन, (एजेन्सी)
इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

युरोपा लिगअन्तर्गत सेमिफाइनल खेलमा जित हात पारेसँगै युरोपियन फुटबलका दुई ठूला टोली म्यानचेस्टर युनाइटेड र आयाक्स एम्स्टरड्याम उपाधिका लागि भिड्ने तय भएको छ।

बिहीबार राति आफ्नै मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा स्पेनको सेल्टा भिगोसँग १–१ गोलको बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेड समग्रमा भने २–१ को जित निकाल्दै फाइनलमा पुगेको हो।
यसअघि सेल्टा भिगोको मैदानमा भएको पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाइटेड १–० ले विजयी भएको थियो। यस्तै अर्को सेमिफाइनलमा फ्रान्सको लियोनसँग ३–१ ले पराजित भए पनि समग्रमा ५–४ ले विजयी हुँदै डच क्लव आयाक्स पनि फाइनलमा पुगेको हो।
पहिलो लेगको खेलमा आयाक्स ४–१ ले विजयी भएको थियो। यस सिजनको फाइनल खेल स्विडेनको स्टकहममा हुने हुँदै छ। मे २४ तारिखमा हुने फाइनल खेलमा स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच भने उपस्थित हुने छैनन्।
गत सिजनदेखि युरोपा लिग विजेता टोलीले च्याम्पियन्स लिगमा स्थान पाउने भएसँगै प्रतिस्पर्धा थप रोमाञ्चक हुँदै गएको फुटबल विश्लेषकहरूले बताएका छन्। लिगको छैठौं स्थानमा रहेको युनाइटेडले युरोपा लिग जितेर अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्ने दाउमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्