ओबीओआरमा नेपाल पनि



नेपाल समाचारपत्र,काठमाडौं

नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा शुक्रबार हस्ताक्षर गरेको छ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शंकरदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो।

उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा. महतले नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो। उहाँले यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको बताउनुभयो।

मन्त्री डा. महतले नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेको र यसपछि नेपालमा सडक सञ्जाल, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो। ‘नेपाल भूपरिवेष्टित देश हो र अझै पनि अल्पविकसित अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ।’ –डा. महतको भनाइ थियो। यो समझदारीपत्रमा हस्ताक्षरसँगै नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा नयाँ अध्यायको थालनीसमेत भएको डा. महतले बताउनुभयो।

युरोप र अफ्रिकासमेतमा विस्तारित हुने चिनियाँ योजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यसको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको रूपमा आफूले लिएको पनि उहाँले बताउनुभयो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको समेत सहभागिता रहेको सो कार्यक्रममा परराष्ट्र सचिव वैरागीले नेपाल पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो।

नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेष गरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्