स्वयम् सेवकले जनता ढाँटे



रसुवा, (नेस)
स्थानीय तहको चुनावमा बदर मतको न्यूनीकरण गर्नका लागि रसुवामा खटिएका मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक गाँउ नपुगेको पाइएको छ। जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटा वडामध्ये केहीमा मात्र स्वंयमसेवक पुगेका छन्। गाउँमा मतदाता शिक्षा कार्यकर्ता नपुगेपछि यसपटकको मत धेरै बदर हुने सम्भावना बढेको छ।

निर्वाचन कार्यालय रसुवाका अनुसार रसुवामा ४२ जना मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक खटिएका छन्। खटिएका स्वयंसेवक गाउँमा नै रहेको जानकारी दिने तर गाउँमा पुग्दा गाउँलेले स्वयंसेवक नआएको जानकारी दिने गरेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले जानकारी दिनुभयो। गाउँमा नपुगेका स्वयंसेवकहरुलाई कारवाही गरिने र पारिश्रमिक नदिने खालिङले बताउनुभयो। ‘तीन दिनको समयमा न नँया थप गर्न सक्छौं न उनीहरुलाई परिचालन गर्न सक्छौं’ –खालिङले भन्नुभयो।

आयोगले बिहीबारदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भने पनि मतदान केन्द्रहरुमा नमूना मतपत्रसमेत नपुगेको मतदान अधिकृतहरुले बताएका छन्। पाजुङ प्रावि मतदान केन्द्रका मतदान अधिकृत मन्त्रीकुमार खत्रीका अनुसार अहिलेसम्म केन्द्रमा नमुना मतपत्र नआएकाले परिचयपत्र वितरणको कार्य मात्र गर्न सकिने भएको छ। प्रत्येक मतदान केन्द्रमा एक जना स्वयंसेवक खटाए पनि मतदान केन्द्रमा भने नपुगेको मतदान अधिकृतले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्