यातायात कार्यालयमा विष्फोट



फिरोज सिद्दिकी, सिरहा
सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा शक्तिशाली कुकर बम विष्फोट भएको छ। बिहीबार १२ बजे कार्यालय सञ्चालन रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासंगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो।

विष्फोट किन र कसले गराएको हो खुल्न सकेको छैन। विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि शौचालयको कोठा क्षतिग्रस्त भएको छ भन्ने अन्य कोठाहरू चर्केका तथा झ्यालका सिसाहरू फुटेको सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानका कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

उहाँका अनुसार नचिताएको घटना एक्कासि घटेको छ। कहिबाट कुनै किसिमको धम्की आएको थिएन। कार्यालयमा असुरक्षाको कुनै संकेत पनि देखिएको थिएन। सबै कर्मचारीहरू आ–आफ्नो काममा व्यस्थ थिए एक्कासि विष्फोटको ठूलो आवाज आयो सबै त्रसित भएर आफ्नो ज्यान जोगाउन भाग्न थाले।

बम विष्फोटबाट भीआरएस तथा डीएलआरएसको सरभरमा समस्या आएकाले कार्यालयको सम्पूर्ण कामकाज स्थगित गरिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो।

यता, इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेका अनुसार घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन। घटनामा संलग्न हुनेहरूको खोज तलास तीव्रताका साथ भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्