हेटौंडामा सिलिन्डर विस्फोट



नेपाल समाचारपत्र
हेटौंडा
स्थानीय निर्वाचनको केही दिनअघि हेटौंडा उपमहानगरपालिका–१६, चिसापानीमा बुधबार राति शंकास्पदरूपमा ग्यास सिलिन्डर विस्फोट भएको छ।

स्थानीयका अनुसार राति करिब सवा १० बजे विस्फोट भएको हो। हटिया चिसापानीको गुरु दरबार चौरनजिक विस्फोट भएको मकवानपुर प्रहरीले बताएको छ। विस्फोटमा परी स्थानीय श्याम दाहाल घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

चौरमा आगो बालिएको र बलेको आगोमा सिलिन्डर राखिएकाले विष्फोट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सिलिन्डर पड्किएकाले टुक्राटुक्रा परेको छ। सिलिन्डरले किन र कसले पड्कायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कतिपय स्थानीय यसलाई टायर पड्किएको भनेर झुक्किएका थिए। विस्फोटको आवाज ठूलो भएका कारण त्यसको खोजीका क्रममा सिलिन्डर भएको जानकारी आएको छ।

घटनापश्चात् जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली राति नै घटनास्थल पुगेको थियो। विस्फोट कसले र किन गरायो भन्ने तथ्य आउन बाँकी छ। विस्फोटमा घाइते भएका दाहालको काठमाडौंको बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ। उनलाई हेटौंडाको चुरेहिल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि काठमाडौं लगिएको हो।

चुरेहिल अस्पतालका पबन्ध निर्देशक रविरमण अधिकारीका अनुसार दाहालको देब्रे खुट्टाको घुँडाभन्दा मुनि र माथिको भाग र दाहिने खुट्टाको घुँडाभन्दा माथिका हड्डी भाँच्चिएका छन्। घाउ ठूलो जस्तो नदेखिए पनि विष्फोटको छर्राका कारण हड्डीको विभिन्न भाग भाँच्चिएको छ।उनको खुट्टाको नशामा पनि चोट छ। हड्डी बाहिर निस्किएको र घाउ बाहिरबाट देखिने गरी लागेका कारण उनको खुट्टा निको हुन केही समय लाग्नसक्ने अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्