भारतीय युवाले नेपालमा आएर माझीलाई कुटे, नेपाल–भारत सीमा क्षेत्रमा तनाब



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको तल्लोस्वराडमा पर्ने नेपाल–भारत सीमाक्षेत्र कुस्मतघाट नाका तनाबग्रस्त भएको छ ।

बिहीवार शिवनाथ गाँउपालिकाको शर्मालीस्थित नेपाल–भारत सीमामा अवस्थीत कुस्मतघाट महाकाली नदीमा डुङगा चालक (माझी) लाई भारतीय युवाले कुटपीट गरेपछी सीमाक्षेत्र तनाबग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक कमल बहादुर विष्टले जानकारी दिनुभयो ।

भारतीय तिन चार जना युवाको समुहले नेपालमा बिहेमा आएका र त्यहीबेला नेपालमै मादक पदार्थ सेवन गरी महाकाली नदीमा डुङगा चलाईरहेको नेपाली धनबीर साँउदलाई कुटपीट गरेको प्रहरीले बताएको छ ।

धनबीरकै डुङगावाट यात्रा गर्दै भारत गएका युवाले पारी भारतमा पुगेपछी धनबीरलाई कुटेको बताईएको छ । भारत पुगीसकेपछी ती युवाहरुले केहीबेरमै थप अन्य युवालाई बोलाएर फेरी पनि धनबीरमाथि दुव्र्यवहार गर्दै कुटपीट गरेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।

धनबीरलाई कुटपीटपछी आक्रोशित भएका नेपाली समुहले सीमाक्षेत्र बन्द गराएका छन ।

‘कुटपीटका साथै धनबीरले चलाउदै आएको डुङगाको चप्पु (डुङगा खियाउने प्रयोग हुने काठको पाता) पनी भारतीय युवाले लगेको छ’ उहाँले भन्नुभयो ‘कुटपीटपछी सीमाक्षेत्रमा तनाबग्रस्त भएको छ ।’ सीमामा भएको तनाबग्रस्तपछी महाकाली नदीमा डुङगा नचल्दा आवताजावत समेत बन्द भएको छ । शनिवार नेपाल भारतका प्रशासनले छलफल गर्ने प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।

बैतडीको तल्लोस्वराड क्षेत्रका नागरिक भारत जादा प्रयोग गर्ने डुङगा बन्द हुदा समस्या भएको छ ।

दैनिक उपभोग्य सामान लिन समेत भारत जाने तल्लोस्वराडका नागरिक सीमानाकामा यसअघि पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले बेलाबेलामा ज्यादती गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्