ब्रेललिपीका माध्यमले दृष्टिविहीन बालबालिका पढ्दै



महोत्तरी, २७ वैशाख । महोत्तरीका दृष्टिविहीन बालबालिका ब्रेललिपीको माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।

जिल्लाको भेरुखी मावि लोहरपट्टी, मावि बसपिट्टी तथा गौरीवास स्रोतकेन्द्रमा गरी ४१ जना दृष्टिविहीन बालबालिकालाई तालिमप्राप्त शिक्षक शिक्षिकाले ब्रेललिपीको माध्यमबाट शिक्षा प्रदान गर्दै आएका छन् ।

राज्यले बर्सेनि जनही रु ४० हजारका दरले यस्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । यस्ता विद्यालयमा शिक्षकका पारिश्रमिकबाहेक स्रोत कक्षा व्यवस्थापनका लागि बर्सेनि एक लाख ६० हजार रकम बराबरको अनुदानको व्यवस्थासमेत रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

विशेष शिक्षा हेर्ने ‘लेखाजोखा केन्द्र’को लापर्बाहीका कारण १० महिना बित्न लाग्दा पनि यहाँका दृष्टिविहीन बालबालिकाले छात्रवृत्ति पाउन नसकेको नेत्रहीन सङ्घ महोत्तरीका वीरेन्द्रकुमार महतोले बताउनुभयो ।

उनीहरुले पाउने छात्रवृत्ति सरहको रकम सम्बन्धित विद्यालयको नाममा रहेको खातामा जम्मा गरिसकेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिनुभयो । अब केही दिनमै विद्यालयले सो रकम वितरण गरिने जिशिअ दाहालले बताउनुभयो ।

विसं २०६८ मा भएको जनगणनाअनुसार जिल्लामा दुई हजार ५२७ दृष्टिविहीन अपाङ्ग छन् । रासस

प्रतिक्रिया दिनुहोस्