‘डेटिङ स्पोट’ लभ्लीहिल अब पर्यटकीयस्थल



प्रताप बानियाँ, म्याग्दी

पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बनेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै जान थालेको हो ।

खासगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । बेनीबजारसँगै जोडिएको खबराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको हो । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न पाइन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ बस्तीको समेत सम्भावना रहेको छ ।
केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरु बताउँछन् । लभ्लीहिलमा पुग्नका लागि पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्ने विषयमा छलफल भए पनि विभिन्न कारणले ती योजनाहरु अलपत्र अवस्थामा छन् ।

सदरमुकाम बेनी आसपासमा व्यस्त दैनिकीबाट विश्राम लिन, मुस्ताङ आवतजावत गर्ने स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकासमा ध्यान दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो । उहाँका अनुसार अब बेनीबजार नजिकका क्षेत्रमा भएका सम्भावनाको पूर्वाधार विस्तार गरी मुस्ताङ घुम्न आउने पर्यटकलाई एकदिन भए पनि बेनीमै रोक्न सक्ने पूर्वाधारहरु बनाउनुपर्ने आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्