चोक–चोकमा ‘म्यादी’ प्रहरी



बाँके, (नेस)
नेपालगञ्जको चोक–चोकमा म्यादी प्रहरीलाई खटाइएको छ। हातमा लठ्ठी समातेका म्यादी प्रहरीहरू नेपालगञ्जसँगै जिल्लाका अन्यत्र चोकमा पनि खटिएका छन्। पोशाक आइनसकेकाले म्यादी प्रहरीहरू सर्ट–पाइन्ट, टिसर्ट र ट्रयाक लगाएर डिउटीमा बसेका छन्।

बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आएको जति पोशाक लगाएर म्यादीलाई बाहिर निकालिएको बताउनुभयो। बाँकेमा १ हजार १ सय २३ जना म्यादी प्रहरी छन्। तीमध्ये १ सय ४७ जनालाई पहाडी जिल्ला पठाइएको छ। एसपी राईका अनुसार, १ सय ३६ जना डोल्पा र ११ जनालाई सुर्खेत पठाइएको छ।

चुनावी मिति सरेसँगै म्यादीलाई सामाजिक कार्यमा लगाइएको छ। विशेष गरेर, नेपालगञ्जको सरसफाईमा म्यादीलाई लगाइएको छ। मन्दिर, प्रशासन कार्यालयलगायत ठाउँमा म्यादीलाई लगाएर सरसफाई गरिएको छ। सरकारले बैशाख ३१ गतेको चुनावलाई लक्षित गरेर ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो।

चार वटा प्रदेशमा जेठ ३१ गते चुनाव हुने गरी सारिएपछि अब म्यादीले ९० दिन काम गर्ने बुझिएको छ। ‘३० वर्षे प्रहरी र ५५ दिने प्रहरी मिलेर चोकमा डिउटी गरेका छन्, बाँकेका एसपी राईले भन्नुभयो–‘सामाजिक कार्य पनि गरिरहेका छौं।’

प्रतिक्रिया दिनुहोस्