कसले बाजी मार्ला मण्डनदेउपुरमा ?



ज्ञानमणि नेपाल, काभ्रे
जिल्लाको नयाँ स्थानीय संरचनाअनुसार गठित मण्डनदेउपुर नगरपालिकामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। यहाँ यसपटक नयाँ अनुहारहरू प्रतिस्पर्धी बनेका छन्। अहिले सम्मको अवस्था हेर्दा ३ ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने निश्चित छ।


यस नगरमा नेपाली कांग्रेसले जिल्ला उपसभापति अच्यूतप्रसाद पौडेललाई चुनावी मैदानमा उठाएको छ। त्यस्तै एमालेले जिल्ला अध्यक्ष टोकबहादुर वाइबालाई र माओवादी केन्द्रले रीता ढकाललाई नगर प्रमुखका लागि उठाएको छ। अच्यूत पौडेल यसअघिका निर्वाचनहरूमा परिचित नाम हो। कांग्रेसका तर्फबाट ०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाको क्षेत्र नं. ४ बाट टिकटको दाबेदारका रूपमा उनको नाम आएको भए पनि त्यति बेला उनले टिकट पाएनन्। तर पनि नेपाली कांग्रेसको मण्डनदेउपुर क्षेत्रमा उनको राजनीतिक सक्रियता भने निकै नै बढ्दै आएको छ। यहाँको विकास निर्माणमा उनी क्रियाशील रहेका छन्।

त्यस्तै एमालेका उम्मेदवार टोकबहादुर वाइबा पनि लामो समयदेखि नै राजनीतिमा सक्रिय छन्। पञ्चायतकालदेखि नै उनी राजनीतिमा होमिएका थिए। गत संविधानसभा निर्वाचनमा जिल्लामा एमालेले उनलाई समानुपातिक उम्मेदवारको रूपमा उठाएको थियो भने हाल उनी जिल्ला अध्यक्ष हुन्। त्यस्तै रीता ढकाल माओवादी केन्द्रको जिल्ला इतिहासमा निकै नै परिचित नाम हो। भूमिगत समयदेखि नै उनी माओवादीमा सक्रिय रहेकी थिइन्। यस नगरमा राप्रपाले भने रामकृष्ण सापकोटालाई नगर प्रमुखका उम्मेदवारका रूपमा उठाएको छ।

त्यसै गरी उपप्रमुखमा नेपाली कांग्रेसले राधिका ढकाल, नेकपा एमालेले निर्मला शाही र माओवादी केन्द्रले निरञ्जन विष्टलाई उठाएको छ। राधिका यसअघि पेसाले पत्रकार हुन्। त्यसै गरी एमालेको तर्फबाट उम्मेदवार भएकी निर्मला शाही साविकको महादेवस्थान गाविसका पूर्वअध्यक्ष एकराजकुमार शाहीकी श्रीमती हुन्। उनी पनि एमालेको तर्फबाट लामो समयदेखि राजनीति गरिरहेकी छिन्। महिला हकहितका विषयमा उनको सक्रियता पहिलेदेखि नै बढेको छ।

१२ वटा वडा रहेको मण्डनदेउपुर नगरपालिका यसअघिका मण्डनक्षेत्रका ४ र देउपुरक्षेत्रका ३ गाविसहरू मिलाएर गठन गरिएको नगरपालिका हो। यहाँ विगतमा कांग्रेस र एमालेले पटकपटक विजय हासिल गरेका थिए। यस नगरपालिकामा हाल २२ हजार २ सय २२ जना मतदाता छन्। अबको राजनीतिक समीकरण भने विगतको जस्तो छैन। सबैले आफूले जित्ने दाबी गरे पनि नतिजा के हुने हो त्यो भने चुनावपछि नै थाहा हुन्छ। सबै उम्मेदवारले जित आफ्नो पक्षमा आउने दाबी गर्दै चुनावी नाराहरू प्रवाह गरिरहेका छन्। कसैले पर्यटन क्षेत्र बनाउने त कसैले कृषिका माध्यमबाट नगरलाई विकास गर्न सकिने प्रतिबद्धता गरेका छन्। मतदाताहरू पनि चुनावको मिति पर्खेर भोट खसाल्न उत्साहित छन्। यसपटक विकासप्रेमी नेतृत्व छान्न सके मण्डनदेउपुर नगरपालिकाले आफ्नो मुहार फेर्न सक्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्