‘सत्ता टिकाउन जे पनि गरिरहेको छ सरकार’



गुल्मी, (नेस)
नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले सत्ता टिकाउन जे पनि गर्न पछि नहट्ने बताएका छन्। गुल्मीको इस्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै सरकारले सत्ता टिकाउन जे गर्न पनि तयार भएकाले सिंगो देश र राजनीतिलाई दुर्गन्धित बनाउँदै लगेको बताए। सत्ता टिकाउन सरकारले जे पनि गरिरहेकाले देश र राष्ट्रहितको निम्ति एमाले सजक भएर उभिएको बताए।

‘यो सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ’, उनले भने– ‘तर सर्वोच्च अदालतले अहिले प्रधानन्यायाधीश कार्कीको पक्षमा जुन फैसला गरेको छ त्यसले पुनः स्वतन्त्र न्यायपालिकाको सम्मान भएको छ।’ नेता विष्टले सरकारलाई चुनौती दिँदै भने– ‘महाअभियोग प्रस्ताव कुनै पनि हालतमा पास हुन नेकपा एमालेले दिने छैन यसर्थ यो सरकारले महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिएर न्यायालयको सम्मान गरोस्।’ अझै पनि देशमा चुनाव हुन नदिन अनेकौं जाल झेल र एमालेप्रति घेराबन्दी भएकाले देशको स्वाभिमान र राष्ट्रियताका पक्षमा एमालेलाई सहयोग गर्न विष्टले आग्रह गरे।

नेकपा एमालेले पार्टी भन्दा माथि देश र जनतालाई ठानेका कारण सबै नेपालीको साथ र सहयोग उत्साहका साथ अगाडि बढेको बताए। नेता विष्टले जनतामा आएको एमाले मोहप्रति केही पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाए। ‘देशको राष्ट्रिय स्वाधीनताका पक्षमा एमालेले धेरै जोखिम मोलेको छ,’ विष्टले भने– ‘त्यसैले कांग्रेस माओवादी केन्द्रसहितका केही पार्टीले एमाले विरुद्धमा मोर्चाबन्दी गरिरहेका छन्।’ उनले भने– ‘मुलुकमाथि भइरहेको षड्यन्त्रका विरुद्ध एमाले लागिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्