प्रति विद्यार्थी ३ सय, ६९ हजार विद्यार्थीका लागि ३ करोड छात्रवृत्ति



यमलाल भुसाल, बुटवल
जिल्ला शिक्षा कार्यालय रूपन्देहीले चालू आर्थिक वर्षमा छात्रवृत्तिका लागि मात्रै झन्डै ३ करोड रुपियाँ खर्च गरेको छ। कार्यालयले जिल्लाका ६९ हजार २ सय ४७ विद्यार्थीका लागि २ करोड ८१ लाख १६ हजार ५ सय रुपियाँ खर्च गरेको जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जानकारी गराउनुभयो।

कार्यालयले आधारभूत तहका छात्रा छात्रवृत्तिमा ५२ हजार ६ सय ७९ जना बालिकालाई वार्षिक जनही ३ सय रुपियाँका दरले छात्रवृत्ति प्रदान गरेको छ। त्यस्तै आधारभूत तहकै दलित १० हजार ३ सय ११ जनालाई जनही ४ सय रुपियाँ, माध्यमिक तहका दलित छात्रबृत्ति तर्फ ३ हजार २ सय ३५ जनालाई बार्षिक जनही ५ सयका दरले छात्रवृत्ति वितरण गरेको हो।

त्यसै गरी जिल्ला शिक्षा कार्यालयले १ हजार १ सय २४ जना जेहेनदार विद्यार्थीलाई जनही १ हजार ७ सय रुपियाँका दरले छात्रवृत्ति प्रदान गरेको छ भने तराई विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको रामनारायण मिश्र छात्रवृत्तिबाट उच्च माध्यमिक तहमा अध्ययन गर्ने १ हजार ४ सय ५८ जना विद्यार्थीलाई जनही २ हजार ३ सय रुपियाँका दरले छात्रवृत्ति प्रदान गरेको हो।
कार्यालयले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी थप ४ सय ४० जना अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जानकारी दिएको छ। जसमध्ये ६१ जना विशेष प्रकृतिका घरबाट आवतजावत गर्न नसक्ने आवासीय विद्यार्थीलाई मासिक ४ हजारका दरले १० महिनासम्मको छात्रवृत्ति रकम प्रदान गरिएको उपजिल्ला शिक्षा अधिकारी टीकाराम अर्यालले बताउनुभयो। त्यसै गरी १ सय ३७ जनालाई वार्षिक ५ हजार, ६७ जनालाई वार्षिक ३ हजार र १ सय ७५ जनालाई वार्षिक १ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको उहाँले जानकारी गराउनुभयो।

जिल्ला शिक्षा कार्यालयले चालू आर्थिक वर्षमा शैक्षिक सुधारका लागि ३० वटा विद्यालयमा २ कोठे भवन, एउटा विद्यालयमा ४ कोठे भवन, १६ वटा विद्यालयमा शौचालय निर्माण, ५८ वटा विद्यालयमा मर्मतसम्भार, २८ वटा विद्यालयमा प्रयोगशाला तथा ७१ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको पत्रकार सम्मेलनमा अर्का उपशिक्षा अधिकारी टीकाराम शर्माले बताउनुभयो।

त्यसबाहेक कार्यालयले धार्मिक विद्यालय सहयोग कार्यक्रम अन्तरगत ४ वटा गुरुकुल र १ सय १८ वटा मदरसालाई जनही १ लाख ८८ हजारका दरले आर्थिक सहयोग गरिएको जिल्ला शिक्षा अधिकारी थापाले जानकारी दिनुभयो।

८ लाख ८० हजार १ सय ९६ जनसंख्या रहेको रूपन्देहीमा ९६ दशमलव १७ प्रतिशत नागरिक साक्षर छन्। गत शैक्षिक सत्रको आधारमा जिल्ला शिक्षा कार्यालय रूपन्देहीले चालू शैक्षिक सत्रमा सामुदायिकतर्फ १ लाख ३१ हजार ५० र संस्थागततर्फ ७७ हजार ९ सय ८३ जना विद्यार्थी विद्यालयमा भर्ना हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो।

रूपन्देहीमा सामुदायिकतर्फ ३ सय ६४ र संस्थागततर्फ ३ सय १२ गरी ६ सय ७६ विद्यालय छन्। त्यसबाहेक जिल्लामा ११८ मदरसा र ४ गुरुकुल विद्यालय सञ्चालनमा भएको जिल्ला शिक्षा कार्यालय रूपन्देहीले जनाएको छ।

रूपन्देहीमा प्राथमिक कक्षाका विद्यार्थीको सिकाइ अभिवृद्धि गर्ने तथा कक्षा दोहोर्याउन छोड्ने विद्यार्थीलाई लक्षित गरी यूएसएआडीको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरू गरिएको छ।

आर्थिक वर्ष २०७१⁄०७२ देखि कार्यक्रम स्वीकृति भए पनि प्राविधिक संस्था चयन हुन नसकेकाले आर्थिक वर्ष २०७२⁄०७३ देखि सञ्चालन गरिएको रूपन्देहीकी कार्यक्रम संयोजक कल्पना थापाले बताउनुभयो। यो कार्यक्रमबाट कक्षा १ देखि ३ सम्मका बालबालिकालाई पाठ्यसामग्री विकास गर्ने तथा पढाइ, लेखाइ, बोध र गणितीय सीपमा केन्द्रित भई कार्यक्रम सञ्चालन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्