वज्रचार्य र अर्यालको संयुक्त योजना



काठमाडौं महानगरपालिकाको मेयरका लागि २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। उम्मेदवारको सूचीमा चर्चामा छन् पवित्र वज्रचार्य। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको तर्फबाट उनले महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन्। चार पटक काठमाडौं महानगरपालिका २३ वडाका वडाध्यक्षमा निर्वाचित भएका वज्रचार्य यस अवधिमा नगरको कार्यवाहक मेयर भएर पनि काम गरिसकेका छन्।

ठूला दलको कार्यशैलीको कडा आलोचना गर्दै आएका वज्राचार्य मसाल चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरको चुनावी दौडमा छन्। उनको गठबन्धनमा नयाँ शक्ति पार्टीकी नेतृ सविना अर्याल उपमेयरको उम्मेदवार बनेकी छिन्। अन्य पार्टीका उम्मेदवारले झैं वज्राचार्यले पनि उपमेयरकी उम्मेदवार सविना अर्यालसँग मिलेर आफ्नो भावी योजना अघि सारेका छन्। वज्राचार्य र अर्याल महानगरको विकास र समृद्धिको आफ्नो योजना सार्वजनिक गरेका छन्। काठमाडौं महानगरपालिकालाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक शहरका रूपमा विकास गर्ने उनीहरूको योजना रहेको छ।

दुवै उम्मेदवार व्यवस्थापनका विद्यार्थी भएकोले काठमाडौ महानगरपालिकाको अहिलेको समस्यालाई व्यवस्थापन गर्ने सीप रहेको दाबी गर्छन्। ‘हामी सपनाको व्यापार होइन र समस्याको व्यवस्थापन गर्नेछौं, योजना मात्र होइन, परिणामसमेत देखाउने छौ’ –अर्याल भन्छिन्। दुवैको संयुक्त घोषणापत्रमा महानगरपालिकाभित्र अव्यवस्थित सडक मर्मत, धुँवा धूलो, सडक बत्ती, खानेपानी ढल निकास र पार्किङको व्यवस्थापन गर्ने कुरालाई जोड दिइएको छ। ‘अस्तव्यस्त रूपमा रहेको प्राचिन र मौलिक शहरलाई व्यवस्थित गर्न मैले उम्मेदवारी दिएको हुँ’ –वज्रचार्यले भने।

दुवैले गैरन्यायीक सडक विस्तारबाट पीडित जनतालाई पुनः स्थापित गर्ने र सडक विस्तार गर्नुपर्ने परिस्थिति सिर्जना भएमा जनताको घर जग्गा न्यायोचित मुआब्जासहित वैकल्पिक व्यवस्था गरेरमात्र सडक विस्तार गर्ने दाबी गरेका छन्। संयुक्त घोषणापत्रमा उपत्यकामा धुँवा र धूलोले मानिसको स्वास्थ्यमा गम्भीर असर गरिरहेकाले त्यसको नियन्त्रण गर्ने, सडकबत्ती, खानेपानी ढल निकासमा विशेष जोड दिइएको छ। राजधानीमा पार्किङको विशेष व्यवस्था गर्ने प्राथमिकतामा राखिएको छ।

काठमाडौं जोड्ने तीव्र गतिको बाटोलाई यथाशीघ्र निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउन पहल गर्ने र मेट्रो रेल, स्काई ट्रेन र फ्लाइओभरको निर्माण गर्ने उनीहरूको अवधारणा पत्रमा उल्लेख छ। महानगरपालिकाको पुरानो शहरको मौलिकता जोगाएर एकै दिनमा दसौं हजार पर्यटक आकर्षित हुने क्षेत्रको रूपमा विकास गर्ने पनि उनीहरूको योजना रहेको छ। महानगरपालिका भित्रको सांस्कृतिक पर्व सांस्कृतिक धरोहर, मन्दिर, बौद्ध विहार तथा अन्य धर्मावलम्बीहरूको सम्पदाहरूको संरक्षण गर्न विशेष योजना ल्याउने उल्लेख गरिएको छ। नगरपालिकाभित्र नेपालीसँगै नेपाल भाषालाई कामकाजी भाषा बनाउने योजना पनि अघि सारिएको छ।

साथै महानगरभित्रका विभिन्न क्षेत्रलाई शिक्षा स्वास्थ्य, सञ्चार, आवास, प्रशासनिक, कूटनीति, व्यापारिक, पर्यटकीय, सांस्कृतिक आदि क्षेत्र तोकी वर्गीकृत गर्ने योजना मेयर वज्रचार्य र उपमेयर अर्यालले अघि सारेका छन्। काठमाडौं उपत्यका तथा बनेपा, धुलिखेल, पनौतीलगायत नजिकका शहरहरूको सडक, सञ्चार, शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानी, फोहोरमैला व्यवस्थापन, उद्योगधन्दा आदिको एकीकृत विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनीहरूको प्रतिबद्धता छ।

महानगरपालिकाभरि सीसीटीभीको सञ्जालसहित स्मार्ट सुरक्षा नीति अपनाउने र अपराधमुक्त शहरको रूपमा विकास गर्ने योजना रहेको दुवैले बताएका छन्। प्रत्येक वडामा जेष्ठ नागरिकमैत्री तथा बाल उद्यान पार्क विकास गरी फ्रि वाईफाई जोनको व्यवस्था गर्ने, महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गामा व्यापारिक उद्देश्यले भवन निर्माणमा रोक लगाउने गरी कानुन बनाउने र नदी किनारका अव्यवस्थित र अतिक्रमण हटाई नदी किनारबाट वैकल्पिक सडक बनाउने योजना छ।

प्रतिक्रिया दिनुहोस्