उम्मेदवारी फिर्ता लिन धम्की



मोतीराम तिमल्सिना, काभ्रे
नाव विरोधी भित्तेलेखन गर्दै गरेको अवस्थाबाट नेकपा माओवादी विप्लव समूहका जिल्ला स्तरीय दुई कार्यकर्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ परेका कार्यकर्ताहरूलाई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
विप्लव समूहले उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन तथा मतदाताहरूलाई मतदान नगर्न अनुरोध गर्दै त्यसको अटेर गरेमा उत्पन्न हुने परिणामको जिम्मेवार आफैं हुन चेतावनी दिएको छ। वैशाख ३१ गतेको निर्वाचन वहिष्कार गर्दै खारेजीको माग गर्दै आएको विप्लव समूहले वैशाख १९ गते उम्मेदवारी दर्ता गरेको भोलिपल्टै उम्मेदवारहरूलाई धम्कीपूर्ण भाषासहितको विज्ञप्ति प्रकाशित गरेको थियो।

केही दिनअघि महादेवस्थान धाइटारमा सुतली बम पड्काएको आरोप पनि विप्लव माओवादीका कार्यकर्तालाई लगाइएको छ। चण्डेनी मण्डन घर भएका शंकर नेपाल र पाँचखाल नगरपालिका घर भएका भोलाप्रसाद नेपाललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरू गरेको छ। उनीहरू दुवै नेकपा माओवादीका विप्लव समूहका जिल्ला सदस्य हुन्।

निर्वाचनका लागि लक्षित गर्दै मध्यमाञ्चल स्तरीय सुरक्षा गोष्ठीमा समेत प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखहरूले गृहमन्त्री, गृह सचिव र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई स्थानीय निर्वाचनको चुनौती विप्लव समूहका कार्यकर्ता भएको किटानी गरेका थिए।

चुनावको पूर्वसन्ध्यामा मण्डन देउपुर नगरपालिकाको धाइटारमा दुईपटक सुतली बम पड्काइसकेको छ भने चुनाव विरोधी भित्तेलेखनहरू शुरू गरिएको छ। ‘बम पड्काउने, अशान्ति मच्चाउने हाम्रो उद्देश्य र नीति छैन, तर निर्वाचन खारेजीका लागि शान्तिपूर्ण आन्दोलन भने गरिरहनेछौं।’–विप्लव माओवादीका जिल्ला नेता शरद रसाइलीले भने।

वैशाख २० गते जारी गरेको विज्ञप्तिमा जिल्ला इन्चार्ज शरद र सेक्रेटरी सुरेशले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा भनिएको छ– ‘भ्रष्ट तथा दलाल संसदीय व्यवस्थाका नाइकेहरूले जनतालाई पुनः भ्रम दिने दुष्प्रयास गरेका छन्। शान्तिपूर्ण कार्यक्रमहरूमा समेत प्रतिबन्ध लगाउने परिपाटीले सरकार पञ्चायतभन्दा अरु पछाडि जान खोजेको अनुभूति भएको छ।’ ‘शान्तिपूर्ण गतिविधिमा रोक लगाउने संसदीय व्यवस्थाका नाइके र तिनका मतियारहरूलाई जनताले उचित जवाफ दिनेछन्। कथित स्थानीय निर्वाचनलाई खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्न तत्काल उम्मेदवाहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दछौं।’

प्रतिक्रिया दिनुहोस्