निर्वाचनमा बलियो सुरक्षा व्यवस्था



बागलुङ, २३ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीति तय गरिएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताउनुभयो । जिल्लामा कुनै किसिमको सुरक्षा चुनौती नरहेको उहाँको भनाइ छ । “निर्वाचनमा अपुग जनशक्ति बाहिरबाट समेत ल्याएर सुरक्षा व्यवस्था कडा पारिएको छ,” उहाँले भन्नुभयो ।

जिल्लाका एक सय तीनवटै मतदानस्थलमा तीन तहको सुरक्षा घेरा रहने छ । मतदानस्थलको भित्री सुरक्षा जनपद प्रहरीले गर्नेछ भने बाहिर सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना परिचालित गरिने उहाँले बताउनुभयो । मतदानस्थलको सुरक्षामा म्यादी प्रहरी र स्वयम्सेवकलाई समेत खटाइने छ ।

संवेदनशील र अतिसंवेदनशील क्षेत्र किटान गरेर सुरक्षा प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक चन्द्रकँुवर खापुङले बताउनुभयो । उहाँले असन्तुष्ट पक्षले निर्वाचन विरोधी गतिविधि गरेमा त्यसलाई निस्तेज पारिने बताउनुभयो ।

“ठूलो सुरक्षा चुनौती केही छैन, हामी सचेत र चनाखो छौँ,” उहाँले भन्नुभयो । मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराखिने उहाँको भनाइ छ ।

बिहीबारदेखि जिल्लाका दसवटै स्थानीय तहलाई केन्द्रित गरी शसत्र प्रहरीको ‘मोबाइल टोली’ परिचालन गरिएको छ । सडक सुविधा नपुगेको ठाउँमा पैदलै हिँडेर सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएको उपरीक्षक खापुङले बताउनुभयो ।

प्रजिअ पाण्डेयले निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिएको बताउनुभयो । आचारसंहिता विपरीत हुने जुनसुकै क्रियाकलापलाई रोक्ने उहाँ बताउनुहुन्छ । “चर्को आवाजमा गीत बजाउँदै निर्वाचनको प्रचार गर्ने कार्य शुक्रबारदेखि नै बन्द गराएकमा छौँ,” उहाँले भन्नुभयो ।

जिल्लाका चारवटा नगरपालिका र ६ वटा गाउँपालिकामा गरी एकसय ३ मतदानस्थल र एक सय ९२ मतदान केन्द्र रहेका छन् । निर्वाचनबाट सबै स्थानीय तहमा गरी कुल चार सय ६९ जना उम्मेदवार निर्वाचित हुनेछन् । जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ५६ हजार ८ सय २ रहेको छ । महिला मतदाताको सङ्ख्या ८२ हजार ८३९ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ७२ हजार ९६३ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्