काभ्रेमा २७७२ को उम्मेदवारी



मतदातासँग भोट माग्दै नेपाली कांग्रेस बनेपा नगरका मेयरका उम्मेदवार राम जोशी

मोतीराम तिमल्सिना, काभ्रे

स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ तहबाट निर्वाचित हुने ७ सय १ जनप्रतिनिधिका लागि झण्डै ३ हजारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ताको भोलिपल्ट राखिएको दाबी विरोध कार्यक्रममा भने कुनै उम्मेदवारका विरुद्धमा उजुरी दर्ता भएको छैन।

जिल्ला निर्वाचन कार्यालय काभ्रेले स्थानीय तहको निर्वाचनअन्तर्गत भएको उम्मेदवारी दर्ता कार्यक्रममा जिल्लाभरका १३ स्थानीय तहका लागि २ हजार ७ सय ७२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। कार्यालयका अनुसार नगरपालिकाको मेयर तथा अध्यक्षका लागि १ सय जनाको उम्मेदवारी परेको छ। त्यस्तै उपमेयर तथा गाउँपालिकाको उपाध्यक्षका लागि ७३ जना, वडा अध्यक्षका लागि ६ सय ४४ जना, महिला सदस्यका लागि ४ सय ९६ जनाको उम्मेदवारी दर्ता भएको छ।

दलित महिला सदस्यका लागि ४ सय १ जनाको उम्मेदवारी दर्ता भएको छ। अन्य सदस्यका लागि १ हजार ५८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कार्यालय काभ्रेका नायब सुब्बा नारायणबहादुर खड्काले जानकारी दिए। कार्यालयका अनुसार बनेपा नगरपालिकामा ३ सय २० जना, पाँँचखाल नगरपालिकामा २ सय ५२, पनौती नगरपालिकामा २ सय ६५ जना, धुलिखेल नगरपालिकामा २ सय ४२ जना, मण्डनदेउपुर नगरपालिकामा २ सय ३१ जना, नमोबुद्ध नगरपालिकामा २ सय ३६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। नगरपालिकामध्ये सबैभन्दा धेरै पनौती नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ। १९ गते मध्यरातसम्म उम्मेदवार दर्ता गराउनेहरुको लाइन लागेको थियो।

त्यस्तै खानीखोला गाउँपालिकामा १ सय ३७ जना, चौरी देउराली गाउँपालिकामा १ सय ७३, तेमाल गाउँपालिकामा १ सय ८६, बेथानचोक गाउँपालिकामा १ सय ५ जना, भुम्लु गाउँपालिकामा १ सय ८१ जना, महाभारत गाउँपालिकामा १ सय ८२ जना र रोसी गाउँपालिकामा २ सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काभ्रेमा ६ जना मेयर, ६ जना उपमेयर, ७ जना गाउँपालिका अध्यक्ष, ७ जना गाउँपालिका उपाध्यक्ष, १ सय १३ वडा अध्यक्ष, १ सय ३५ महिला वडा सदस्य, १ सय ३५ दलित महिला सदस्य र २ सय ७० जना अन्य सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्