सभापतिद्वारा छुट्टै प्यानल दर्ता



नवराज पहाडी, लमजुङ

जिल्लाको दोस्रो ठूलो सुन्दरबजार नगरपालिकामा नेपाली कांग्रेसका नगर सभापतिले आफूसहित सम्पूर्ण प्यानलको बागी उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले मनोमानी ढंगले उम्मेदवार चयन गरेको विरोधमा सभापति द्वारिका मिश्रले छुट्टै प्यानल दर्ता गराएका हुन्। न्यायको आवाज सर्वसाधारण मतदातादेखि पार्टीको केन्द्रसम्म पुर्याउनका लागि छुट्टै प्यानल दर्ता गराउनुपरेको मिश्रले बताए।

सुन्दरबजार नगरमा कांग्रेसले पेसाले ठेकेदार रहेका बद्रीमान श्रेष्ठलाई प्रमुख पदमा उठाएको छ। विगतमा गाविसको उपाध्यक्ष रहेका श्रेष्ठ ५ वर्षे कार्यकालमा जम्मा ३ वटा बैठकमा मात्र हाजिर भएको चर्चा अहिले पनि दोहोरिने गरेको छ। यसै गरी, सो दलले कुन्छाकी ज्ञानु शाहलाई उपप्रमुखमा उठाएको छ, उनी पार्टीको पुरानो कार्यकर्ता भए तापनि नेतृत्व गर्ने क्षमता देखाउन सकेकी छैनन्।

जम्म ११ वटा वडामा समेटिएको सुन्दरबजारमा कांग्रेसबाट विद्रोह गरी विभिन्न ७ वडामा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी वडामा पार्टीले सिफारिस गरेका व्यक्तिहरुलाई टिकट दिएकाले आफ्नो समूहको समर्थन रहने बागी उम्मेदवार मिश्रले बताए।

लमजुङमा २००६ सालमा ब्राह्मणले हलो जोत्नुका साथै छुवाछुतविरुद्ध आन्दोलनको अभियान चलाएको थियो। मुलुकमा प्रजातन्त्र ल्याउनका लागि विगुल फुक्ने कार्य गरेको र जिल्लामै शैक्षिक आन्दोलनसमेतको अगुवाइ गर्ने दुराडाँडाँसमेत यही नगरपालिकामा पर्दछ। तर, कांग्रेसले त्यस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको क्षेत्रलाई प्रमुख त दिएन नै उपप्रमुखको पनि उम्मेदवार नबनाएपछि त्यस क्षेत्रका सो दलका कार्यकर्तासमेत रुष्ट भएका छन्। हालको सुन्दरबजार नगरपालिका घोषणा हुँदा दुराडाँडा मौजामा रहेका ६ गाविसमध्ये ४ गाविस सुन्दरबजारमा गाभिएका छन्। त्यति ठूलो क्षेत्रका हैसियत तथा ऐतिहासिकता र उक्त स्थानमा पुराना र त्यागी नेता मात्र हैन नयाँ पुस्तामा समेत एक से एक होनहार उम्मेदवार हुँदाहुँदै मुख्य पदमा कांग्रेसले पुराना कार्यकर्तालाई प्राथमिकता दिएन।

पार्टीको यस्तो कार्यले आफ्नो क्षेत्रप्रति अन्याय र अपमान भएको ठहर गर्दै आफूले विद्रोह गरी उपप्रमुख पदमा उम्मेवारी दिएको दुराडाँडाका रामचन्द्र अधिकारीले बताए। विगतमा शिक्षण पेसामा आबद्ध उनी नेपाल शिक्षक संघको पूर्वजिल्ला सदस्य, विद्यार्थी कालमा नेविसंघको जिल्ला सचिव, टाँडी क्याम्पस चितवनमा नेविसंघको इकाइ अध्यक्ष, कांग्रेसको निर्वाचन क्षेत्र नं. २ को सभापति र जिल्ला सदस्यसमेत थिए। त्यसबाहेक विभिन्न सामाजिक संघ–संस्थामा पनि उनी सक्रिय छन्।

जम्म ११ वटा वडामा समेटिएको सुन्दरबजारमा कांग्रेसबाट विद्रोह गरी विभिन्न ७ वडामा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बाँकी वडामा पार्टीले सिफारिस गरेका व्यक्तिहरुलाई टिकट दिएकाले आफ्नो समूहको समर्थन रहने बागी उम्मेदवार मिश्रले बताए। पार्टीमा विद्रोह गरी मिश्रलाई समर्थन जनाउँदै उम्मेदवारी दिनेहरु भुवनराज गौलीले वडा नं. १, मुक्तिनाथ अधिकारी–३, सुकबहादुर गुरुङ–४, सूर्यकुमार गुरुङ–५, रामशरण मरहठ्ठा–६, चन्द्रप्रसाद पोखरेल–७ र वडा नं. ९ मा रामजी कँडेलले उम्मेदवारी दर्ता गराएका छन्। वडा नं. २, ८, १० र ११ वडामा भने पार्टीले सिफारिस गरेकाहरु नै उम्मेदवार भएकाले आफूहरुको समर्थन रहने मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्