अफिस नै नआएका केमिस्ट



पानी परीक्षण ठप्प
बाँकेमा पानी परीक्षण ठप्प भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जमा केमिस्ट र असिस्टेन्ट केमिस्ट नभएपछि पानी परीक्षण ठप्प भएको हो। केमिस्ट राजेन्द्र महत दरबन्दी मिलाएर कार्यालय नै नआई अध्ययन बिदामा बस्नु र असिस्टेन्ट केमिस्ट रविकिरण आचार्यको बढुवासँगै विभागमा सरुवा भएकाले पानी परीक्षण हुन सकेको छैन।

आर्थिक वर्ष २०७१⁄७२ मा केमिस्ट महतको नेपालगन्जमा दरबन्दीको पत्र आएको थियो। कर्मचारीहरू भन्छन्– ‘पत्र आयो तर कार्यालयमा महत पाइलासम्म टेक्न आएनन्। उतैबाट अध्ययन बिदा मिलाएर बसे। उनी कहाँ छन्, कार्यालयलाई थाहा छैन।’ लामो समयसम्म पनि महत सम्पर्कमा नआएपछि विभागले हप्ता दिनअघि मात्रै १५ दिने स्पष्टीकरण मागेको चिठ्ठी नेपालगन्ज कार्यालयमा आइपुगेको छ।

केमिस्ट महत नभए पनि असिस्टेन्ट केमिस्ट आचार्यले काम गरिरहेकाले अप्ठेरो परेको थिएन। आचार्य केमिस्टमा बढुवा भएर विभाग गएपछि पानी परीक्षण ठप्प भएको हो। ‘यहाँ नै केमिस्टको दरबन्दी भए पनि त्यसमा अर्कै व्यक्ति रहेकाले बढुवा भएपछि आचार्य विभाग गए’, डिभिजन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रकाशजंग शाहले भन्नुभयो– ‘त्यसपछि पानी परीक्षण ठप्प भएको छ।’ तिहारपछि विभाग गएका आचार्य फेरि तीन महिनाका लागि आएर गएका थिए।
डिभिजन कार्यालयले सञ्चालन गरेका हरेक आयोजनाको पानी परीक्षण गर्नुपर्छ। जिल्लामा खानेपानी तथा सरसफाइको सुविधा उपलब्ध गराउने र पानीको गुणस्तर परीक्षण गर्ने डिभिजन कार्यालयको काम मानिन्छ। कर्मचारीको अभावमा पानीको परीक्षण गर्न सकेको छैन। डिप टियुवबेलको पानीलाई शुद्ध भनिए पनि जिल्लामा बहुसंख्यकले प्रयोग गर्ने हातेपम्प (नल्की) को पानीलाई शंकास्पद मानिन्छ। ग्रामीण भेग मात्रै होइन, शहर बजारभित्रै पनि ४०⁄५० फिटमा गाडेको नल्कीको पानी पिउने गरिन्छ।

देशभरमा पाँच वटा डिभिजन कार्यालय छन्। सबैमा पानी परीक्षणको ल्याबको व्यवस्था गरिएको छ। नेपालगन्जमा २६ जना कर्मचारीको दरबन्दी रहेकोमा २० जना कार्यरत छन्। पानी परीक्षण गर्ने केमिस्ट र असिस्टेन्ट केमिस्ट नहुँदा डिभिजन कार्यालय अप्ठेरोमा परेको छ। डिभिजन कार्यालयले पाँचवटा पेडारी, खासकुश्मा, गनापुर, शमशेरगन्ज र पुरैनामा ओभर हेड टंकी सम्झौता गरी काम शुरू गरेको छ। टिटिहिरिया र वसुदेवपुरमा डिप टियुवबेल सम्झौता गरी काम थालेको छ। तराई मधेस कार्यक्रमअन्तर्गत विभिन्न सातवटा आयोजनाको डिप टियुवबेल बोलपत्र आह्वान गरी बोलपत्रको मूल्यांकन भइरहेको सूचना अधिकारी शाहले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्