पारामोटर उडानमा रोक



विष्णु तिमल्सिना, बर्दिया
टेलिभिजनमा प्यारामोटर उडाएको दृश्य देखेका गुलरियाबासीले आइतबार प्रत्यक्ष देख्न पाए। गुलरिया नगरपालिका–६ का अब्दुल सलामले बनाएको पारामोटर भारत गुजरातका ३५ वर्षीय निरज हुड्डाले परीक्षणका रूपमा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ तुलापुरस्थित कारगार नजिक रहेको खेलकुद मैदानको आकाशमा उडाएका थिए। प्यारामोटर उडेको दृश्यको मनोरञ्जन स्थानीयबासीले लिए। तर विनाअनुमति पारामोटर उडाउने २ जनालाई प्रहरीद्वारा पक्राउ गरी उक्त कार्यमा रोक लगाई कारबाही चलाएको छ।

फेसबुकको माध्यमबाट बर्दियाका अब्दुल कलामसँग सम्पर्क भई यही मार्च ४ तारेखका दिन नेपाल आएको पारामोटर चालक भारत गुजरातका निरजले बताए। उनले पारामोटर आफूले नबनाएको उडान मात्र गरेको प्रहरीलाई बताएका छन्। स्थानीय प्रहरी प्रशासनलाई जानकारी नै नगराई सुरक्षा संवेदनशीलतालाई ख्याल नराखी गैरकानुनी रूपले परीक्षण गरिएको उक्त पारामोटर उडाएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी गराउनुभयो।

कारबाहीको सिलसिलामा नेपाल नागरिक उड्डयन प्राधिकरणमा जानकारी गराई प्राधिकरणको परामर्शअनुसार अनुमतिविना सञ्चालन नगर्न चेतावनी दिई साँझ छोडिएको छ। सो पारामोटर पल्सर मोटरसाइकलको इन्जिनबाट बनाइएको निर्माणकर्ता अब्दुल कलामले बताए।

प्रतिक्रिया दिनुहोस्