राप्ती उपक्षेत्रीय अस्पतालमा विस्तारित स्वास्थ्य सेवा शुरू



नेपाल समाचारपत्र
घोराही, दाङ
राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आइतबारदेखि विस्तारित स्वास्थ्य सेवा शुरू गरेको छ। यो सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म अस्पतालमा सशुल्क विशेषज्ञ सेवा दिइनेछ।

अस्पतालले पत्रकार सम्मेलन गरी आइतबारदेखि सेवा शुरू गरिएको जानकारी दिएको हो। जसका लागि हाललाई प्रति बिरामी ३ सय रुपियाँ सेवा शुल्क तोकिएको छ। दिउँसो ३ देखि ५ बजेसम्म बिरामीको जाँच गरिने र २ बजेदेखि ४ बजेसम्म टिकट काट्ने व्यवस्था मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थीले जानकारी दिनुभयो।

बिरामीको जाँच शुल्क ३ सय राखिएको भए पनि रोग पत्ता लगाउन गरिने परीक्षण शुल्क भने यथावत् राखिएको छ। यसरी अस्पतालबाट यो सेवा लिँदा बाहिर जाँचेको भन्दा शुल्कमा केही सस्तो, परीक्षण शुल्क सस्तो र अस्पतालकै फार्मेसीबाट औषधि पनि सस्तोमा बिरामीले पाउने डा. पन्थीले जानकारी दिनुभयो।

जनशक्ति र भौतिक पूर्वाधारको अभावमा अहिले हरेक दिन थोरै मात्र रोगको विशेष सेवा दिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ। जसअनुसार आइतबार दन्तरोग र आयुर्वेद, सोमबार जनरल सर्जरी र हाडजोर्नी, मंगलबार स्त्रीरोग र भिडियो एक्सरे, बुधबार जनरल मेडिसिन र बालरोग, बिहीबार नाक, कान र घाँटी तथा शुक्रबार छालारोग र युरोलोजीको विशेष सेवा दिइने अस्पतालले जनाएको छ।

जनशक्ति र भौतिक पूर्वाधार बढेसँगै हरेक दिन सबै विशेष सेवा विस्तार गरिने अस्पतालले जनाएको छ। सरकारले अस्पतालमा बिरामीको जाँच गर्ने समय साँझ ५ बजेसम्म तोकेपछि चिकित्सकहरूले विरोध जनाएका थिए। चिकित्सकलाई पनि सन्तुष्ट बनाउन ठूला अस्पतालमा विस्तारित सेवामार्फत् सशुल्क विशेषज्ञ सेवा दिने नीति ल्याएको थियो। यो नीतिप्रति चिकित्सकहरू सहमत रहेको डा. पन्थीले जानकारी दिनुभयो। ‘यो सेवा पूर्णरूपमा लागू भयो भने सरकारी चिकित्सकले बाहिर निजी क्लिनिकमा काम गर्नुपर्ने छैन’ –उहाँले भन्नुभयो। यो भोलिको परिकल्पना भएको उल्लेख गर्दै उहाँले अहिले पनि अस्पतालको विस्तारित स्वास्थ्य सेवामा ड्युटी परेको दिन कुनै पनि चिकित्सक निजी क्लिनिक नजाने बताउनुभयो।

विस्तारित सेवामा दैनिक ३० जनासम्म बिरामी जाँच्न सकिनेछ। त्यसअघि १० देखि ३ बजेसम्मको नियमित ओपीडी सेवा यथावत् छ। यो सेवाका लागि बिहान साढे ९ देखि साढे १२ बजेसम्म नाम लेखाउनुपर्ने पुरानै प्रावधान छ। ओपीडीमा नाम लेखाउन भीडभाड नहोस् भनेर केही समयदेखि अस्पतालले टोकन प्रणाली लागू गरेको डा. पन्थीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्