दुई चरणको निर्वाचनले मतदाता निरास



विनोद सिंह विष्ट,बैतडी ।

सरकारले प्रदेश नं ७ मा वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सारेपछी यहाँका मतदाता निरास भएका छन ।

दुई दशकपछी हुन लागेको स्थानिय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै उत्साहित भएका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसँगै निरास बनेका हुन ।

प्रदेश नम्बर १,२,५ र ७ नम्वर प्रदेशमा जेठ ३१ गते तथा ३,४ र ६ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सात नम्बर प्रदेशको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेको दशरथचन्द नगरपालिका २ देहिमाण्डांैका सुर्य बोहराले बताउनुभयो ।

कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता भन झन अन्यौलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले लागेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका बलराज भट्टले बताउनुभयो ।

निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो उहाँले भन्नुभयो ‘‘मिति नै सरेपछि अब के गर्ने, चुनाव नै नहुने हो कि भन्ने चिन्ता लागेको छ ।”

यहाँका मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्यौलमा रहेका छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ ।

चुनावको मिति सरेपछि प्रचार–प्रसारमा पनि सुस्तता आएको नेपाली कांगे्रसका जिल्ला सचिव तथा सुर्नया गाउँपालिकाका अध्यक्षका उम्मेदवार बीर बहादुर विष्टले बताउनुभयो ।

चुनावी प्रचारप्रसारमा जुटीरहेको भएपनि मतदातामा चुनाव हुन्छ कि हुदैन भन्नेमा अन्यौलता छाएको छ उहाँले भन्नुभयो“सरकारले निर्वाचनको मिती सारेपछि मतदाताले निरास बनेका छन ।”

आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरेपनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशंक जन्माएको एमाले बैतडीका सचिव लिलाधर भट्टले बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट(आदित्य)ले सरकारले चुनावको मिती सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानिय तहमा उम्मेद्वार घोणणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो ।

४ नगरपालिका र ६ गाँउपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८२४ जनाले मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्