बार्सिलोनाको शीर्षता कायमै



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा जित हासिल गर्दै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा कायमै रहेको छ।

घरेलु प्रतिद्वन्द्वी इस्पान्योललाई ३–० गोलअन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्षस्थानमा यथावत नै रहेको हो। समान अंक भए पनि दोस्रो स्थानमा रहेको रियल मेड्रिडभन्दा बार्सिलोनाले एक म्याच बढी खेलेको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको उक्त खेलको ५०औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनालाई शुरूआती अग्रता दिलाएका थिए। खेलको ७६औं मिनेटमा इभान राकिटिचले लियोनेल मेसीको पासलाई सदुपयोग गर्दै गोल गरेपछि बार्सिलोना २–० ले अघि रह्यो।

यस्तै लुइस सुआरेजले खेलको ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको जित पक्का भएको थियो।

जितपछि शीर्षस्थानमा रहेको बार्सीलोनाको ३५ खेलबाट ८१ अंक हुँदा समान अंक जोडेका रियल मेड्रिडले ३४ म्याच खेलेको छ। यसअघि शनिबार राति भएको अर्को खेलमा रियल मेड्रिडले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको थियो।

रियलको जितमा क्रिस्टियानो रोनाल्डो र मार्सेलोले एक–एक गोल गरे भने भ्यालेन्सियाका ड्यानी परेहोले फ्रिकिकमार्फत एक गोल फर्काएका थिए। शनिबारै भएका अन्य खेलहरुमा एट्लेटिको मेड्रिडले लस पल्मासलाई ५–० ले हराउँदा रियल सोसिडाडले पनि ग्रानाडालाई २–१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्