५२ हजार पर्यटकद्वारा म्याग्दीको भ्रमण



प्रताप बानियाँ, म्याग्दी

पर्यटकीय सम्भावना बोकेको पहाडी जिल्ला म्याग्दीमा नौ महिनाको अवधिमा ५२ हजार पर्यटकले भ्रमण गरेका छन्। चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म कुल ५२ हजार २७ जनाले भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको स्वदेशी तथा विदेशी पर्यटकहरुले भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार भ्रमण गर्नेमा पुरुष पर्यटकको सङ्ख्या २७ हजार ३ सय ५२ रहेको छ भने महिलाको २४ हजार ६ सय ७५ रहेको छ। प्रहरीको तथ्यांकअनुसार म्याग्दी भ्रमण गर्नका लागि जिल्ला भित्रिनेमा कुल ३२ हजार ७८ जना रहेका छन् भने १९ हजार ९ सय ४९ जना बाहिरिएका छन्। प्रहरीले दिएको जानकारीअनुसार गएको साउन महिनामा २ हजार ५ सय ४५, भदौमा २ हजार ८ सय २६, असोजमा ७ हजार ५ सय ३५, कात्तिकमा १० हजार ९ सय ३७ र मंसिरमा ५ हजार २ सय २६ जनाले म्याग्दीको भ्रमण गरेका छन्।
यसैगरी पुस महिनामा ३ हजार ९ सय ३४, माघमा ३ हजार ४ सय ६३, फागुनमा ४ हजार ७ सय ६५ र चैतमा १० हजार ७ सय ९३ जना भ्रमण गरेका थिए। उक्त विवरणअनुसार सबैभन्दा धेरै कात्तिक र कम साउनमा पर्यटकको आवागमन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उत्तरी म्याग्दीको भुरुङ–तातोपानी, सदरमुकाम बेनीबजार र पश्चिम म्याग्दीको दरबाङ क्षेत्रको नाका भएर पर्यटकहरु म्याग्दी भित्रिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो। कास्कीको घान्द्रुक, हिमालपारीको जिल्ला मुस्ताङ र कतिपय पर्यटकहरु ट्रेकिङ एजेन्सीमार्फत सिधै हेलिकप्टरको सहायताले जिल्ला भित्रिने गरेको उहाँको भनाइ छ।

म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिलबाट मनोरम दृश्यावलोकन, म्यागासेसे पुरस्कार विजेता महावीर पुनको गाउँ नांगीको अवलोकन, राउन्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा तथा धौलागिरि हिमाल आरोहण गर्न आउने गरेका छन्। त्यस्तै सिंगा तथा भूरुङ–तातोपानीको तातोपानी कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, धार्मिक क्षेत्र गलेश्वर, पुलहाश्रम, जगन्नाथ एवं मालिका मन्दिरको दर्शन गर्न र ती ठाउँबाट अन्य ठाउँको अवलोकन गर्न समेत पर्यटक आउने गरेको स्थानीय बताउँछन्।

उता हिमालपारीको जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनका लागि मनाङ र म्याग्दीको बेनी हुँदै हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आवतजावत हुने गर्दछ। भूकम्प र नाकाबन्दीपछि भारतीय पर्यटकको संख्यामा कमी आए पनि आन्तरिक पर्यटक बढिरहेको बेनीका होटल व्यवसायी बाबुराम आचार्यले बताउनुभयो।

पछिल्लो समय पर्यटकको उपस्थिति राम्रो रहेको हुँदा पर्यटकीय एवम् धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न सकेमा जिल्लामा पर्यटक आवागमन बढ्ने र होटल व्यवसाय समेत फस्टाउने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्