बैंक सञ्चालकले दायाँबायाँ गर्ने चान्स छैनः गभर्नर



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा सुशासन र पारदर्शीता आवश्यक रहेको बताउनुभएको छ। आइतबार प्राइम बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेपछिको एकीकृत कारोबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

उक्त कार्यक्रममा उहाँले बैंक तथा वित्तीय संस्थाहरूले लगानीका अन्य क्षेत्रहरू पनि खोज्नुपर्ने सुझाव पनि दिनुभयो। गभर्नर नेपालले भन्नुभयो–‘चालू आर्थिक वर्षको आठ महिनामा मुलुकलाई ५८० अर्बको व्यापारघाटा रहेको छ, त्यसलाई हेरेर कुन वस्तुको आयात बढी भएको छ, त्यो वस्तु नेपालमा नै उत्पादन गर्ने प्रस्तावमा बैंकहरूले लगानी गर्नुपर्छ।’ विगतको नाकाबन्दीले असर होइन अवसर सिर्जना गरेको उल्लेख गर्दै उहाँले नेपालमा आवश्यकता भएको वस्तुको उत्पादन गर्नुपर्ने बताउनुभयो।

पुँजी वृद्धिको नीतिले सकरात्मक सन्देश दिएको बताउँदै गभर्नर नेपालले अब नेपालका बैंक तथा वित्तीय संस्थालाई सानोतिनो झट्काले हल्लाउन नसक्ने गरी मजबुत भएको दाबी गर्नुभयो। अर्थतन्त्रको आकारअनुसार बैंकको संख्या निर्धारण हुने भन्दै अर्थतन्त्र वृद्धि हुँदै गएपछि थप बैंकको आवश्यकता हुन सक्ने उहाँको भनाइ थियो। बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिमलगायत बैंकिङ पहुँच नपुगेका ग्रामीण एवम् दुर्गम क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नुपर्ने औंल्याउँदै ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दा थुपै्र सुहलियत दिँदा पनि बैंकहरू जान नखोज्नु अचम्म भएको उहाँले बताउनुभयो।

कार्यक्रममा गभर्नर नेपालले बन्द, हड्ताल नभए तथा कृषि उत्पादन वृद्धि भएको अवस्थामा पुँजीगत खर्च कम हुँदा पनि आर्थिक वृद्धिदर उच्च हुन सक्ने प्रमाणित भएको बताउनुभयो। अहिले राष्ट्र बैंकमा सरकारको २३३ अर्ब रुपियाँ थप्रिएर बसेको छ । तर, आर्थिक वृद्धिदर करिब ७ प्रतिशत रहेको छ। यदी पुँजीगत खर्च बढ्ने हो र लगानीका नयाँ बाटो पनि खुल्ने हो भने दुई अंकको आर्थिक वृद्धि धेरै टाढा नभएको गभर्नर डा. नेपालको भनाइ छ। उहाँले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूको दक्षता बढाउनेतर्फ पनि पहल गर्नुपर्ने सुझाव दिनुभयो। मर्जर र एक्विजिसनपछि सुशासनमा जोड दिनुपर्ने भन्दै उहाँले सञ्चालकहरूले दायाँबायाँ गर्ने चान्स नै नभएको बताउनुभयो।

उक्त कार्यक्रममा नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाह, प्राइम बैंकका अध्यक्ष्ँ उदयमोहन श्रेष्ठलगायतले आफ्ना धारणा राख्नुभएको थियो। प्राइम बैंकले विराटलक्ष्मीका शेयरधनीलाई सय कित्ता बराबर ७५ कित्ता तथा कन्ट्री डेभलपमेन्ट बैंकका सेयरधनीलाई सय कित्ता बराबर प्राइमको ४० कित्ता शेयर दिएर खरिद गरेको हो।

दुई विकास बैंक प्राप्तिपछि प्राइम बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपियाँ पुगेको छ। बैंकले असार मसान्तसम्म ८ अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन अपुग १ अर्ब ६८ करोड रुपियाँ बैंकले चालू आर्थिक वर्षको कमाई, स्वापबाट बचेको रकम, बोनस शेयर जारी गर्ने लक्ष्य लिएको छ। त्यस्तै दुई संस्थालाई खरिद गरेपछि बैंकको निक्षेप ५९ अर्ब ६९ करोड र कर्जा लगानी ५४ अर्ब ९८ करोड रुपियाँ तथा बैंकको शाखा संख्या ५५ पुगेको छ। बैंकले आइतबार नै काठमाडौंको न्युरोडमा रहेको केन्द्रीय कार्यालयलाई कमलपोखरीस्थित आफ्नै भवनमा स्थान्तरण गरी सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्