विद्यालय भर्ना अभियान शुरू



रसुवा, (नेस)
रसुवाको जिबजिबेमा सञ्चालनमा रहेको एक सरकारी विद्यालयले नयाँ भर्ना हुने विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक वितरण थालेको छ। जिल्लाको जिबजिबेमा रहेको नीलकण्ठ नमुना माविले नयाँ शैक्षिक सत्रसँगै सञ्चालन भइरहेको भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि पोसाक वितरण गरेको हो।

विद्यालय जाने उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहून् भनेर नयाँ भर्ना हुने विद्यार्थीलाई पोसाक वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक नारायण देवकोटाका अनुसार विद्यालयले नयाँ भर्ना भएका २० जना विद्यार्थीलाई पोसाक वितरण गरिसकेको छ। १ देखि ५ कक्षासम्म २० र ६ देखि ९ सम्म ५७ जना नयाँ भर्ना भएका छन्।

भर्ना हुने क्रम जारी रहेकाले विद्यार्थीको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। त्यसै गरी विद्यालयले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई यो वर्षभरि निःशुल्क स्टेसनरीका सामग्री वितरण गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्