रगतकै अभावबाट मृत्यु हुन दिँदैन नेपाली सेना



नेपाल समाचारपत्र
रुकुम
रुकुममा ब्लड बैंकको स्थापना गर्ने भनी विभिन्न सरोकारवाला निकायले पहल चालेको धेरै भइसकेको छ। तर कुनै न कुनै समस्याले हालसम्म पनि ब्लड बैंक स्थापना हुन सकेको छैन। तर रुकुमस्थित नेपाली सेनाको देवी दल गणले रगतकै अभावमा कसैलाई पनि मृत्यु हुन दिएको छैन।

‘रक्तदान जीवनदान’ भन्ने भावनालाई आत्मसात् गर्दै यस गणका सकल दर्जाले आवश्यक परेको अवस्थामा यथाशीघ्र जिल्ला अस्पतालसँग समन्वय गरी रक्तदान गर्ने गरेको नेपाली सेनाको देवीदल गणका गणपति प्रमुख सेनानी पंकज रावलले बताउनुभयो। आवश्यक परेको बेला मिल्दो ब्लड निःशुल्क रूपमा उपलब्ध गराउने उहाँको भनाइ छ। मुसीकोट नगरपालिका चौखावाङकी २४ वर्षीया पिंकी सुनुवार सुत्केरी व्यथा लाग्दा अत्यधिक रक्तश्राव भयो।

उहाँको जिल्लामा ब्लड बैंक नहुँदा र सुविधा सम्पन्न अस्पताल नहुँदा बाँच्ने आशा मारि सकेको थियो। तर भगवान्को भरोसामा आफूले नयाँ जीवन पाएको उहाँ बताउनुहुन्छ। उहाँले आफ्नो लागि भगवान् भनेको ‘नेपाली सेना’ भएको बताउनुभयो। ‘यदि नजिकै नेपाली सेना नभएको भए म मृत्युको मुखमा पुगिसकेको थिए’, उहाँले भन्नुभयो– ‘अन्तिम अवस्थामा नेपाली सेनाले ब्लड दिएपछि म बाँचेकी हुँ।’ सानीभेरी गाउँपालिका गरायलाकी २२ वर्षीया संगीता खड्काले पनि जिल्लामा ब्लड बैंक नहुँदा उनी जस्तै पीडा भोग्न बाध्य हुनुभयो। आवश्यक परेको समयमा नेपाली सेनाले ब्लड निःशुल्क दिन थालेपछि यहाँका स्थानीय खुसी भएका छन्। यसले जिल्लामा हुने सुत्केरीको मृत्यु दरलाई समेत कमी गरेको छ भने अर्काेतिर सुविधा सम्पन्न ठाउँमा लिँदा लाग्ने पैसाको समेत बचत भएको नागरिक समाजका गणेश हमालले बताउनुभयो।

ब्लड नपाइँदा यहाँका स्थानीयहरू उपचारका लागि तराईका विभिन्न जिल्लामा जाने गरेका छन्। १० जना सुत्केरी र बाँकी अरू बिरामीलाई ब्लड दिएको अस्पताल विकास समितिका अध्यक्ष शिव आचार्यले जानकारी दिनुभयो। जिल्ला ब्लड बैंक नहुँदा यहाँका बिरामीले सास्ती पाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्