अहेब बनाउने भन्दै घुस लिने सुब्बा पक्राउ



रामधन राई, खोटाङ ।
अहेवको जागिर दिलाउने भन्दै १३ जनाबाट घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अहेव अस्थायी करारका लागि फारम भरेका १३ जना आवेदकबाट प्रति व्यक्ति ३५ हजार रुपैंयाँका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आईतबार पक्राउ परेका हुन् ।

अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आफुले घुस लिएको सार्बजानिक रुपमा स्विकार गरेका छन् ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेवको अस्थायी करार कोटा खुलाएको थियो । नासु खनालले घुस लिएका व्यक्ति कोही पनि अहेब नबने पछि उक्त विषय बाहिर आएको थियो ।

पक्राउ परेका खनालको बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो । प्रजिअ पोखरेलका अनुसार नासु खनालले गल्ती गरेको बुझिएकोले तत्कालै कारबाहीको प्रक्रिया थालिएको छ । घुस लेनदेनका बिषयमा बार्तालाप गरेको मोबाईल फोनको कल रेकर्ड समेत उपलब्ध गराईएको छ ।

तीस वर्ष लामो अवधिसम्म सेवा गरेका नासु खनाल यसै वर्ष अधिकृतको बढुवा लाईनमा रहेको अस्पताल स्रोतले जनाएको छ । खनालको दुई वर्ष मात्र सेवा अवधि रहेको थियो ।
नासु खानलले आवेदकबाट घुस लिएको थाहा पाएपछि नेपाली काँग्रेस खोटाङले अस्पतालमा तालाबन्दी गरेको छ । भ्रष्टचारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै कांग्रेसले आइतबार अस्पतालमा तालाबन्दी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्