संरक्षक र इरा च्याम्पियन



संरक्षकभूषण वज्राचार्य र इरा रावत ट्रफिका साथ

नेपाल समाचारपत्र
काठमाडौं
संरक्षकभूषण वज्राचार्य र इरा रावत पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको पुरुष फाइनलमा डिफेन्डिङ च्याम्पियन संरक्षकले जितेन्द्र परियारलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। नयाँ च्याम्पियन बन्ने क्रममा इराले महिलाको उपाधि भिडन्तमा माहिका राणालाई ६–२, ५–७ र ६–३ को सेटमा हराइन्। दुवै समूहमा पहिलो र दोस्रो हुनेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जय अमात्य र धर्मरत्न शाहीको जोडी पहिलो भए। उक्त जोडी राजु क्षेत्री र डेगेन्द्र श्रेष्ठको जोडीबाट वाकओभर पाए। विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद हात पारे।

प्रतिक्रिया दिनुहोस्