राजनीति ज्यादै कठिन भएको मिसेल ओबामाको धारणा



वासिङगटन, (एजेन्सी)
अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामाले राजनीति जटिल भएको बताउँदै आफू राजनीतिमा नआउने संकेत दिएकी छिन्।

ओरल्यान्डमा सञ्चारमाध्यमसँगको साक्षात्कारमा उनले राजनीति परिवारका लागि अत्यन्त कठिन हुने धारणा राखेकी हुन्। मिसेलले भनिन्– ‘म आफ्नो बच्चाहरूलाई यस्तो गर्नका लागि भन्दिनँ। जब तपार्इं उच्च पदको दाबी गर्नुहुन्छ, त्यहाँ तपाईं मात्र हुनुहुन्न। तपार्इंको पूरै परिवार त्यसमा मुछिएको हुन्छ।’

अमेरिकाको प्रथम महिला छँदै मिसेल ओबामाले आफ्नो राजनीतिक महत्त्वाकांक्षालाई पन्छाएकी थिइन्। तर, अमेरिकामा राष्ट्रपतिका पदका लागि भएको चुनाव अभियानपछि उनले पहिलोपटक राजनीतिमा आउन सक्ने संकेत पनि दिएकी थिइन्। चुनाव अभियानका क्रममा उनलाई डेमोक्र्याटिक पार्टीका सबैभन्दा प्रभावशाली वक्ताका रूपमा हेरिएको थियो। ह्वाइटहाउस छोडेपछिको सय दिन पूरा भएकोमा ओबामा परिवारका लागि कस्तो रह्यो भन्ने प्रश्नको जवाफमा मिसेल ओबामाले भनीन्– ‘अहिले सबै ठीक भइरहेको छ।’

ह्वाइटहाउस छोड्ने समयमा उनलाई आफ्नो आँसु थाम्नका लागि धेरै मिहिनेत गर्नुपरेको पनि उनले खुलाइन्। उनले भनिन्– ‘मेरो आँखामा आँसु आओस् भन्ने मैले चाहिनँ, किनभने मानिसहरूले मलाई नयाँ राष्ट्रपतिका कारण रोइरहेकी छ भन्न सक्छन्।’

मिसेल ओबामाका अनुसार ह्वाइट हाउस त्यो ठाउँ हो जहाँ उनले अहिलेसम्मको सबैभन्दा धेरै समय बताएको ठाउँ हो।

प्रतिक्रिया दिनुहोस्