बक्स अफिसको तयारी तीव्र



चलचित्र विकास बोर्डले बक्स अफिस सञ्चालनमा ल्याउने कामलाई तीव्र गतिमा अगाडि बढाएको बोर्डका अध्यक्ष राजकुमार राईले बताएका छन्। यसका लागि सबै सिनेमा हल सञ्चालकलाई सचेत गराउन र उनीहरूको गुनासो सुन्नका लागि हल अनुगमनमा निस्किएको उनले जनाएका छन्।

राईका अनुसार अब चाँडै नै सिनेमा हलको टिकट काउन्टरमा एउटा हातमा सिगरेट समातेर एउटा हातले टिकट बेच्ने मान्छेलाई देख्नुपर्ने छैन। सबै हलको टिकट काउन्टरमा कम्प्युटर जोडिनेछ र टिकट काउन्टरमा सफा कपडा लगाएको फुर्तिलो लाग्नेमान्छे हुनेछ।

विदेशी फिल्मको हकमा व्यवसाय गरेको कुल रकमको १५ प्रतिशत अनिवार्य रूपमा चलचित्र विकास बोर्डलाई बुझाउनुपर्ने नियम छ। उक्त रकमलाई बोर्डले नेपाली फिल्म क्षेत्रको विकासका लागि चलचित्र विकास शुल्क शीर्षकमा लिने गरेको छ। तर हल व्यवसायीले विदेशी व्यापारको कुल रकम नदेखाउने आरोप लागिरहेकाले राईले यो विषयलाई गम्भीर रूपमा लिन तथा राज्यलाई तिर्नुपर्ने कर र विकास शुल्कको विषयमा पारदर्शी हुन तथा बक्स अफिसका लागि तयारी गर्न सुझाव दिएका छन्।

बोर्ड अध्यक्ष राईले राजधानीका विभिन्न फिल्म हलमा अनुगमन गरेका हुन्। हलहरूले फिल्म वितरण र प्रदर्शन ऐनबमोजिम दर्शकलाई सेवा सुविधा नदिएको गुनासो आएकाले पनि अनुगमनमा निस्कनुपरेको बताए।

प्रतिक्रिया दिनुहोस्