सालैजोमा बैंशालु जोवन



वसन्त ऋतुसँगै मौसम पनि परिवर्तन भइरहेको छ। हालैको एक दिन बिहानैदेखि कालो कादल मडारिएर मेघ गर्जनका साथ वर्षात् भइरहेको थियो। तर वर्षात्को पनि पर्वाह नगरी निर्भाना टिभी नेपालको टोली भने सुटिङको तयारी गरिरहेको थियो।

हा बाँसैको मुना हजुर छलक्कै बढ्यो सालैजो
हेर्दाहेर्दै तामा भयो
हा पोहोर साल हजुर किनेको घाँगर कति चाँडै जामा भो सालैजो
युवा स्वरमा यो सालैजो घन्किएसँगै युवती स्वरमा जवाफ आउँदै थियो
हा हुर्केर आयो हजुर बैशाल
जोवन सालैजो
कसो गरी पार होला
हा पाकेको तोरी हजुर हुर्केको छोरी सालैजो
माइतीघरलाई भार होला
अर्काको नासो हजुर भन्छन् खै पासो सालैजो
माइतीघरलाई भार होला
बलबहादुर गुरुङ र मनमाया वाइबाको स्वर पाएको यही सालैजो भाकामाथि वर्षालाई छलेर पनि म्युजिक भिडियो निर्माण भइरहेको थियो धर्मस्थलीमा। मगर र गुरुङ समुदायको संस्कृतिको प्रतिनिधित्व गर्ने सालैजो भाकालाई धर्मस्थलीको एक पुरानो शैलीको घरबाट म्युजिक भिडियोमा उतारिँदै थियो। ध्वजापातासहित घर सजाउने र कलाकारहरूलाई ड्रेसअप र सिंगारपटार गर्ने काम सकिएपछि दीपेन्द्र तिमल्सिनाको निर्देशनसँगै म्युजिक भिडियोको छायांकन शुरू गरियो।

स्टेजदेखि सानो र ठूला पर्दाका फिल्मका लागि नृत्य निर्देशन गर्दै आएका तिमल्सिनाले भिडियोका कलाकार कलाकार र मोडलहरूलाई गीतअनुसारको स्टेप दिइसकेपछि सुटिङ शुरू भयो। छायांकार नवराज उप्रेती उनको एक्सनसँगै क्यामराको फ्रेमलाई सानदार बनाउन लागिपरिरहेका थिए भने कलाकार र मोडलहरू पनि नाच्न गाउन तम्तयार थिए। मोडलद्वय हेरुका लामा र रीना थापा मगर सालैजोलाई उत्कृष्टता दिलाउन सक्दो कम्मर मर्काइरहेका थिए।

रमाइलो के भइरहेको थियो भने जब निर्देशक तिमल्सिना सटका लागि एक्सन भन्थे, उनको निर्देशनमा म्युजिक, क्यामरा र कलाकार सबै आफसेआफ चल्थे। तर सँगसँगै पानी पनि दर्किन्थ्यो। घाम र पानीको रमाइलो लुकामारीका बीच सुटिङ टोली भने सट लिन हतारिहाल्थ्यो, मौका छोप्दै। निर्भाना टिभी नेपालका सञ्चालक रमेश श्रेष्ठलाई भने अर्कै चटारो थियो। भन्थे– ‘के गर्ने कल्चरल गीतमा गीतअनुसारकै भिडियो बनाउने सबै कुरामा ध्यान दिनै पर्यो।’

भिडियोमा लामा र मगरका साथ गायिका एवं मोडल सुनिता गुरुङ, दुर्गा घिमिरेलगायत पनि अभिनय गरिरहेका थिए। भिडियो एक सातापछि नै सार्वजनिक हुने यसको बजार व्यवस्थापक निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए। गीतमा लय, शब्द र संगीत सागर विरहीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्