एमालेलाई सहयोग गर्न देउवाको आग्रह



नेपाल समाचारपत्र
ललितपुर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्मा संशोधनको प्रक्रिमा रहेको नेपालको संविधान संशोधन विधेयक पारित गर्नका लागि प्रमुख प्रतिपक्षी दल एमालेलगायत व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सो आग्रह गर्नुभएको हो।
नेपाली जनताको चाहनाअनुरूप संविधानसभाबाट निर्माण गरी जारी गरिएको वर्तमान संविधानलाई सर्वस्वीकार्य बनाउनका लागि पेस भएको संशोधन विधेयकमा अरू दलको भावनाको समेत कदर गरिने विचार व्यक्त गर्दै सभापति देउवाले भन्नुभयो– ‘संविधान संशोधन विधेयकमा परिमार्जन गर्नुपर्ने विषय एमालेसँग पनि केही भए दिए हुन्छ, त्यसलाई पनि हामी समेट्न तयार छौं।’ उहाँले एमालेको भावनालाई समेत समेटेर विधेयक पास गर्नै पर्ने विचार व्यक्त गर्नुभएको थियो।

सभापति देउवाले सबै राजनीतिक दलहरूलाई चुनावमा सहभागी गराउनैका लागि निर्वाचन आयोगको परामर्श लिएर नै दुई चरणमा निर्वाचन गर्न सहमति भएको पनि बताउनुभयो। उहाँले कांग्रेसले मात्र दुई चरणमा चुनाव गर्न दबाब नदिएको उल्लेख गर्नुभयो।

सो कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेस एकताबद्ध रहेको र पार्टीका सबै कार्यक्रममा सबै नेताहरू सहभागी रहँदै आएको पनि बताउनुभएको थियो।
सो पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले तराई⁄मधेसका जनताको भावनालाई राष्ट्रियतालाई बलियो बनाएर विकासको गतिलाई तीव्रतर बनाउन संविधान संशोधनको प्रस्ताव ल्याइएको र निर्वाचन पनि दुई चरणमा हुने तारतम्य मिलाइएको उल्लेख गर्नुभयो।

वरीष्ठ नेता पौडेलले नेपाली कांग्रेस आफ्नो भिजन र मिसनमा स्पष्ट भएको बताउँदै भन्नुभयो– ‘अनेक बाधा, व्यवधान र अप्ठइरालाई सामना गर्दै हामी आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढिरहेका छौं। देशलाई जोगाएर जनताको अधिकारको संरक्षण गर्दै राष्ट्रिय उन्नतिका लागि हामी सधैंभरि समर्पित हुँदै आएका छौं।’

उहाँले देशका सामु आएका समस्या र चुनौतीहरूको समाधान कांग्रेसले मात्र गर्न सक्ने दाबी गर्दै भन्नुभयो– ‘अरू दलहरू समस्या सृजनामा छन्, समाधानमा होइन।’ उहाँले नेपाललाई अहिलेको समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रमा कांग्रेसले नै ल्याएको बताउनुभयो। उहाँले नेपाली कांग्रेसले समावेशितालाई विधानमा मात्र हैन, संगठन र व्यवहारमा पनि कार्यान्वयनमा लगेको दाबी गर्नुभयो।

२०४६ पूर्वको अवस्थासँग वर्तमान नेपालको तुलना गर्दै भन्नुभयो– ‘पूर्वाधार निर्माणका साथै आर्थिक–सामाजिक क्षेत्र र नागरिकको जीवनमा आएको गुणात्मक परिवर्तन कांग्रेसकै नेतृत्वमा सम्भव भएको हो।’ राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्तिका बीचमा पनि नेपालले आर्थिक सामाजिक क्षेत्रमा हासिल गरेको उपलब्धि नेपाली कांग्रेसले लिएका सही नीतिको परिणाम भएको उहाँको दाबी थियो।

उहाँले जननिर्वाचित संविधानसभाले बनाएको संविधान जारी भएपछि राजनीतिक व्यवस्थाको टुंगो लागि सकेकाले नेपाली कांग्रेस अब जनताको आम्दानी बढाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएर अगाडि बढेको बताउनुभयो। उहाँले कृषि क्रान्ति, पर्यटन र ऊर्जाको विकासबाट नै समृद्धि हासिल गर्न सकिने र त्यसको भिजन नेपाली कांग्रेससँग मात्र भएको दाबी गर्नुभयो।

उहाँले मधेसको भावनालाई समेटेर संविधान संशोधन गरिने कुरा संविधान जारी गरिँदाको बखतमा नै सबै पार्टीलाई महसुस भएको उल्लेख गर्दै हिमाल, पहाड, तराई मधेस सबैलाई समेटेर लैजाँदा नै नेपालको राष्ट्रियता बलियो हुने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रचारप्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर यसैमार्फत सबै नेपालीलाई समेटेर समृद्धि हासिल गर्ने उदार भावनाले नेपाली कांग्रेसले संविधान संशोधनलाई विशेष महत्त्व दिएको बताउनुभयो। उहाँले केही दलहरू प्रदेश प्रदेशका नेपाली नागरिकलाई लाञ्छित र आलोचित गरेर मुलुकलाई कमजोर बनाउन उद्यत रहेको बेला नेपाली कांग्रेसले सबैलाई जोडेर राष्ट्र र राष्ट्रियता सबल बनाउने कामको अगुवाइ गरेको पनि उल्लेख गर्नुभयो। कांग्रेसले निर्वाचन जितेमा जनताका सपना पूरा गर्दछ भन्ने कुराको दृष्टान्त संविधानसभाको दुईवटा निर्वाचनले प्रमाणित गरेको पनि उहाँले दाबी गर्नुभयो। ‘कांग्रेस हार्दै गर्दा पहिलो संविधानसभाले संविधान बनाउन सकेन’, उहाँले भन्नुभयो– ‘दोस्रो संविधान सभाको निर्वाचनमा जित्दै गर्दा संविधान आयो।’

कार्यक्रममा प्रचारप्रसार समन्वय उपसमितिका सहसंयोजक एवम् केन्द्रीय सदस्य गगन थापाले प्रमुख प्रतिपक्ष एमालेलगायत एकाध दलहरूले संशोधनका विषयमा भ्रम छरिरहेको आरोप लगाउँदै भन्नुभयो– ‘संविधानलाई सर्वस्वीकार्य गर्ने कार्यलाई लाञ्छित गर्ने कार्य आपत्तिजनक छ। नागरिकहरूलाई अपमानित गर्ने काम भएको छ।’ उहाँले नेपाली कांग्रेस राष्ट्रियता र अखण्डताका विषयमा संवेदनशील रहेको बताउँदै भन्नुभयो– ‘प्रदेशको सीमाना तलमाथि होला तर देशको हुँदैन। देश कस्तो रहने र प्रदेश कस्तो रहने भन्ने कुरा जनता छुटइउन सक्छन्।’ उहाँले नेपाली कांग्रेसकै नेतृत्वमा शान्ति र संविधानको ऐतिहासिक दायित्व पूरा भएको समृद्धिको नेतृत्व पनि कांग्रेसले नै पूरा गर्ने दाबी गर्नुभएको थियो।

कार्यक्रममा प्रचारप्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकको सभापतित्वमा भएको थियो। ठूलो संख्यामा पत्रकारहरूको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यहरू, भ्रातृ संगठन एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र कार्यकर्ताहरू पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्