कांग्रेसका पूर्वसभापति नयाँ शक्तिका उम्मेदवार



नयाँ शक्ति नेपालले स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी गरेको छ। नेपाली कांग्रेसमा रही नगरको सभापतिसमेत रहेका बनेपाका सुन व्यवसायी रवीन शाक्यलगायतका नेताहरु नयाँ शक्तिमा प्रवेश गरेसँगै यहाँ नयाँ शक्तिको चुनावी माहोल पनि तात्दै गएको छ।

सुन चाँदी व्यवसायी संघका अध्यक्ष दानकाजी शाक्य, यातायात व्यवसायीहरु वर्ण शाक्य, अनिल भैललगायत एमालेमा प्रवेश गरेपछि रवीन शाक्य नयाँ शक्तिमा प्रवेश गरेका हुन्।

नयाँ शक्ति नेपालले शाक्यलाई बनेपा नगरको प्रमुख पदमा उम्मेदवार बनाएको छ। नयाँ शक्तिले जिल्लाकै १३वटै स्थानीय तहमा उम्मेदवार बनाउने रणनीति बनाएको छ। पाँचखालमा युवा श्रीकृष्ण धिमाललाई प्रमुख बनाउने तयारी गरेको छ भने पनौती र धुलिखेलमा माओवादीमा असन्तुष्ट रहेका नेताहरुलाई नयाँ शक्तिमा प्रवेश गराई उम्मेदवार बनाउने तयारी गरेको छ।

एमालेले एक महिना अघिदेखि नै बनेपामा प्रमुख र उपप्रमुख तय गरी चुनावी प्रचार स्वरुप घर दैलो अभियान शुरु गरिसकेको अवस्थामा नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन।

लक्ष्मी नरसिं बादे र रेखा दाहाललाई प्रमुख र उपप्रमुख बनाएपछि एमालेभित्रको एकतालाई बलियो बनाउँदै १४ वटै वडामा चुनावी प्रचार गरेको छ। एमालेमा प्रवेश गर्नेहरुह्वात्तै बढेपछि एमाले भित्री तयारीमा लागेको छ। कांग्रेसबाट भने दिनदिनै मतदाताहरु घटिरहेका छन्।

नेपाली कांग्रेसले जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, नगर उपसभापति शान्तिरत्न शाक्य र साँगाका प्रचण्डराज प्रधानमध्ये एकलाई टिकट दिने सम्भावना छ। बनेपाका कञ्चनचन्द्र बादे राज्यमन्त्रीसमेत भएकाले उनलाई प्रभाव पार्दै बनेपाकै शान्तिरत्न शाक्यले कुनै पनि प्रकारबाट टिकट हत्याउन खोजिरहेका छन्। तर उनले सुन तस्करीमा ५० लाख धरौटी राखेर तस्कर छुटाएको आरोप सुन व्यापारीहरुले लगाउँदै कुनै हालतमा पनि उनलाई टिकट दिन नहुने दबाब मन्त्रीलाई दिएका छन्।

बनेपाबाट टिकट दिन नसकेको आरोप उनलाई बनेपालीहरुले नै लगाइरहँदा भैल जिल्ला कोषाध्यक्ष भए पनि सडक मापदण्ड मिचेर घर भत्काउन नदिएको, बनेपामा विकासको सहयोगीभन्दा विरोधी भन्दै आलोचना गरिएको छ। प्रचण्डराज प्रधानलाई सबैले सहमत गरे पनि बनेपा बाहिरको भन्दै होच्याउने क्रम शुरु भएको छ।

बनेपाबाहिरको उम्मेदवारलाई बनेपालीहरुले असहयोग गर्ने उद्घोष गरिरहँदा साँगाका नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रचण्डराजलाई टिकट नदिए अन्य पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्ने बताएका छन्। वैशाख १९ गते उम्मेदवार दर्ता गर्ने दिन आइरहँदा नेपाली कांग्रेसमा टिकटको रस्साकस्सी छ।

उपप्रमुखमा पनि निर्मला श्रेष्ठ, मञ्जु घिमिरे र ज्ञानु काफ्लेले दाबी गरिरहेका छन्। निर्मलालाई दिँदा दुवै उम्मेदवार एउटै जातको हुँदा एमालेका उपप्रमुख रेखा दाहालको सम्भावना बलियो भएको कांग्रेसहरुले बताएका छन् भने निर्मलाबाहेक अरुलाई दिँदा निर्मलाको समूहले रेखालाई सहयोग गर्ने भन्दै धम्की दिइरहेका छन्।

माओवादीमा भने गंगाबहादुर दोङ बमध्वज निकटका उम्मेदवारहरुले अवसर पाएको भन्दै संयोजक दीनानाथ गौतम निकटका नेताहरु असुन्तुष्ट बनेका छन्। हाम्रालाई भन्दा राम्रालाई दिने भनिए पनि त्यस्तो नभएको भन्दै माओवादीभित्रको असन्तोषले एमाले र कांग्रेसको प्रतिस्पर्धामा कसलाई सहयोग गर्ने वा तालमेल गर्ने भन्ने तयारीसमेत गरेका छन्।

स्थानीयस्तरमा दलहरुले तालमेल गर्ने सम्भावना पनि बढेको छ। यो पटक बनेपामा नेपाली कांग्रेसको गढ मानिएको भए पनि सबैतिरबाट घेराबन्दी गर्दै उसको एकाधिकार तोड्न साना दलहरु एक हुने तयारीमा पुगेका छन्।

बनेपामा झन्डै ३० हजार मतदाता रहेका छन्। पनौती पछिको दोस्रो ठूलो मतदाता भएको नगर बनेपा हो।

प्रतिक्रिया दिनुहोस्