गाउँगाउँमा नफुलेका कोपिला



लमजुङ, (नेस)। लमजुङका गाउँगाउँमा बाल विवाहसम्बन्धी सचेतना जगाउन यतिबेला नफुलेको कोपिला नाटक प्रदर्शन भइरहेको छ। वास्तविक जीवनसँग मेल खाने यो कथा मञ्जरी नाट्यसमूहले तयार पारेको नाटक हो।

अपाङ्ग संरक्षण समाजको सहयोगमा मञ्जरी नाट्यसमूहले तयार पारेको उक्त नाटक जिल्लाका चितिको तिलहार, बन्सारको हिलेबजार, भोटेओडारको कृष्ण बगंैचामा प्रर्दशन गरिसकिएको हो।

नाटकले दर्शकको मन जित्न सफल भएको भोटेओडार निवासी स्थानीय भक्ति नमूना माविका पूर्वप्रधानाध्यापक धु्रव कुँवरले बताए।

गाउँकै विद्यालयमा अध्ययन गरिरहेका उमेरले १६ वर्ष मात्र टेकेका वसन्तलाई बुबाआमा लाहुरे बनाउने सपना देख्छन्। इन्डियामा चौकीदार जागिर खाएका बाबुले छोरालाई दैनिक सैनिक अभ्यास सिकाउने गर्दछन्।

सोही गाउँकी कोपिला पनि १५ वर्ष पुगिन्। उनलाई पनि उनको परिवारले ठूलो मान्छे बनाउने सपना देखेको छ। तर, परिस्थिति भने अर्कै बन्न पुग्छ। एउटै विद्यालयमा सँगै जाने बसन्त र कोपिला बीचमा प्रेम प्रगाढ हुँदै जान्छ।

अरुले विवाह गरेको देखेर उनीहरुमा पनि विवाह गर्न रहर जाग्छ। अन्ततः त्यो कलिलै उमेर उनीहरू विवाह बन्धनमा बाँधिन पुग्छन्। तर उनीहरूले पढाइ छोड्दैनन्। सँगैका साथीभाइ अनि गाउँ समाजले पनि जिस्काउन थालेपछि उनीहरु बाध्य भएर विद्यालय छोड्न पुग्छन्। विद्यालय जान छोडेपछि वसन्त बेरोजगार हुन्छन्। विदेश जान उमेर पुग्दैन। उनी कुलतमा फस्न थाल्छन् भने कोपिला गर्भवती हुन्छिन्।

सानै उमेरमा गर्भवती हुँदा कोपिलामा स्याहार पुग्दैन। वसन्त कुलतमा फसेपछि परिवारमा किचलो बढ्दै जान्छ। धाराबाट पानी ल्याउने बेला लडेर प्रसव पीडा हुँदा उनको मृत्यु हुन्छ । आमासँगै छ महिनाको गर्भमा रहेको बच्चा जन्मन नपाइ मर्छ।
उक्त नाटकमा बालविवाह हुँदा व्यक्ति, परिवार र समाजमा के कस्ता असरहरू पर्छ सक्छन् भन्ने सन्देश दिएको नाटकका निर्देशक केदार बोहोरा हुन्।

बालबालिकाहरु अरुको लहलहैमा पर्दा कसरी विवाह गर्न पुग्छन, गर्भ रहेपछि के कस्ता विषयमा असर गर्छ र ध्यान दिनुपर्छ, बालविवाह रोक्न परिवार र समाजको के कस्तो भूमिका खेल्न सक्छन् भन्ने सन्देश नाटकबाट दिइएको छ।

यतिबेला लमजुङमा बालविवाह चुनौतिका रूपमा देखिँदै आएका कारण यो नाटकको आवश्यकता देखिएको अपांग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले बताए। उनका अनुसार यो नाटक अनुकूल मिलाएर जिल्लाका सबै क्षेत्रमा देखाउने कार्यक्रम छ।
नाटकमा कलाकारहरु केदार बोहोरा, रमिला अर्याल, हिमाल मजाकोटी, राधिका अधिकारी, निर्मला परियार, गंगा नेपाली, आशिष परियार, सदीक्षा कुँवरले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्