उत्तर कोरियासँग भीषण द्वन्द्व सम्भव छ: ट्रम्प



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु हतियार तथा क्षेप्यास्त्र कार्यक्रमका कारण ऊसँग ठूलो द्वन्द्व सम्भव हुने बताएका छन्।

यद्यपि उनले यसलाई कूटनीतिक तरिकाबाट समाधान खोज्ने प्रयासलाई पनि त्यतिक महत्व दिइने उनले बताए। यसैबीच चीनले पनि उत्तर कोरियालाई परमाणु हतियारको परीक्षणमाथि प्रतिबन्ध लगाउन चेतावनी दिएको छ।

राष्ट्रपतिको कार्यभार सम्हालेको सय दिन पूरा गरेको अवसरमा सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने– ‘उत्तर कोरियासँग ठूलै भिडन्त हुने सम्भावना छ।’

अमेरिकाले यो समस्याको समाधान शान्तिपूर्वक चाहेको र आफ्नो प्रशासनले सैन्य प्रयोगको बदलामा आर्थिक नाकाबन्दीको दायरा बढाउनमा जोड दिइरहेको ट्रम्पले बताए। उनले भने– ‘हामी यसको समाधान कूटनीतिक तरिकाबाट गर्न चाहेका छौं तर यो अत्यन्त कठिन बन्दै गइरहेको छ।’

‘उत्तर कोरिया आज हाम्रा लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय समस्या हो।’ –सय दिन पूरा गरेको अवसरमा रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा ट्रम्पले किम जोङ उनले युवा उमेरमै उत्तर कोरियालाई जुन मार्गमा अगाडि बढाइरहेका छन् त्यो उनका लागि अत्यन्त कठिन हुने बताए। उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष बैठक हुँदै छ।

ट्रम्पले उत्तर कोरियालाई राक्ने चीनको प्रयासलाई लिएर राष्ट्रपति सी जिनपिङको प्रशंसा गरेका छन्। उनले भने– ‘जिनपिङले कडा मिहिनत गरिरहेको छ भन्ने मलाइ लागेको छ। ऊ पनि अशान्ति चाहँदैन भन्ने तय छ। उनी राम्रो मान्छे हुन्।’

यसै महिनाको पूवाद्र्धमा फ्लोरिडामा ट्रम्प र जिनपिङबीच भेटवार्ता भएको थियो। उक्त बैठकमा ट्रम्पले चीनलाई उसको सहयोगी तथा छिमेकी उत्तर कोरियाविरुद्ध कारबाही गर्न भनेका थिए।

यसैबीच अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले परमाणु परीक्षणलाई लिएर चीनले उत्तर कोरियालाई चेतावनी दिएको बताएको छ। फक्स न्युजसँगको कुराकानीमा टिलरसनले उत्तर कोरियाली नेता किम जोङ उन सक्की नभएको बताए।

उनले उत्तर कोरियाको परमाणु क्षेप्यास्त्र कार्यक्रममाथि रोक लगाउने योजनामा किम जोङ उन अन्तर्राष्ट्रिय समुदायका लागि सहयोगी बन्न सक्ने पनि बताए।
राष्ट्रपति बनेको लगत्तै ट्रम्पले चीनमाथि उसले उत्तर कोरियाविरुद्ध पर्याप्त कदम नउठाएको आरोप लगाएको थियो। उनले अमेरिका उत्तर कोरिया संकटलाई लिएर एक्लै कदम उठाउन सक्ने चेतावनी पनि दिएका थिए।

 लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिकी हवाई सेनाले बिहीबार लामो दूरीको एक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ। उक्त क्षेप्यास्त्र परमाणु हतियार बोक्न सक्षम रहेको जनाइएको छ। उत्तर कोरियासँगको तनाव तथा विश्वका विभिन्न मुद्दालाई लिएर भइरहेको मतभेदबीच भएको यो परीक्षणलाई महत्वपूर्ण मानिएको छ।

क्यालिफोर्नियाको वेडनवर्ग एयरफोर्स बेसबाट उक्त क्षेप्यास्त्रलाई करिब ४ हजार २ सय किलोमिटर टाढा प्रक्षेपण गरिएको थियो। उक्त क्षेप्यास्त्र प्रशान्त महासागरस्थित मार्सल द्विप समूहसम्म पुगेको थियो।

अमेरिकी वायुसेनाले एक विज्ञप्तिमा भनेको छ– ‘यो हाम्रो देशको परमाणु क्षमताका लागि महत्वपूर्ण उपलब्धि हो। यो अमेरिकासँग भएको जमिनबाट प्रहार गर्ने एकमा परमाणु क्षेप्यास्त्र हो।’

प्रतिक्रिया दिनुहोस्