अन्ततः बन्ने भो बाहिरी चक्रपथ



५ वर्षभित्रमा पूरा हुने

नेपाल समाचारपत्र,काठमाडौं
उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको छ। १३ वर्ष अघिदेखि यसको चर्चा हुँदै आएको थियो।

शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएको छ।

मन्त्रालयले १३ वर्षदेखि अनिर्णयको अवस्थामा थन्किरहेको बाहिरी चक्रपथ निर्माणको कामलाई अगाडि बढाउने निर्णय गरेको हो। ६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ वर्षसम्ममा निर्माण पूरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ।

शहरी विकासमन्त्री अर्जुननरसिंह केसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर बाहिरी चक्रपथ निर्माणको कार्यले मूर्तरूप लिने भएको हो। आगामी आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणमा चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा निर्माण शुरू हुनेछ।

प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गा धनी रहेका छन्।
चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५ दशमलव ०८ किलोमिटर, ललितपुरमा १५ दशमलब ८० किलोमिटर र भक्तपुरमा २१ दशमलव ०५ किलोमिटर हुने शहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले बताउनुभयो।

नौ महिनाअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री केसीले चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो। चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि परिमार्जनसहित तयार भइसकेको प्रवक्ता सिंहले बताउनभुयो।

उपत्यकामा शहरीकरण र गाउँबाट शहरमा बसाइँ–सराइ भई आउने जनताको ओइरोलाई मध्यनजर गरेर मन्त्री केसीले व्यवस्थित शहरीकरण र सुन्दर उपत्यकाको निर्माणको लागि चक्रपथ निर्माण प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभएको छ।

संघीय राजधानीको रूप लिन थालेको काठमाडौं उपत्यकाका तीनवटै पुराना शहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित शहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप बाहिरी चक्रपथ निर्माण हुन लागेको हो।
चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुने प्रवक्ता सिंह बताउनुहुन्छ।

बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्रसहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट बेहोरिने भएको छ भने ५ सय मिटर (दायाँबायाँ २५०–२५० मि. सडकको किनारबाट) चौडा क्षेत्रमा मूल सडकबाहेकका क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) प्रविधिद्वारा व्यवस्थित शहरीकरण गरिनेछ।

काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरू हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ।

सीतापाइलाबाट हलचोक, गहिरीगाउँ (इचंगुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कूल लम्बाइ ८६ किलोमिटरभन्दा बढी हुन जाने शहरी विकास मन्त्रालयले बताएको छ।

भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनीको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाइने भएको छ।

ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइने भएको छ।

सरकारले बाहिर चक्रपथ निर्माणमार्फत बढ्दो ट्राफिक जामलाई कम गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्