निर्वाचन गतिविधि सुस्तायो



नेपाल समाचारपत्र, बैतडी ।
सरकारले दुई चरणमा स्थानिय निर्वाचन गर्ने निर्णय गरेसंगै बैतडी लगायत प्रदेश नं ७ मा निर्वाचन गतिबिधीमा सुस्तता आएको छ ।

प्रदेश नम्बर १, २, ५ र ७ नम्वर प्रदेशमा जेठ ३१ गते तथा ३, ४ र ६ नम्बर प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानिय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

वैशाख ३१ गते हुने भनेको प्रदेश नम्वर ७ को निर्वाचन जेठ ३१ मा सारेपछी निर्वाचन गतिबिधीमा सुस्तता आएको दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

जेठ ३१ मा निर्वाचन हुने भएपछी वैशाख १२ गतेदेखि दशओटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य पनि आयोगले अर्को निर्णय नगर्दासम्मका लागी रोकिएको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले बताउनुभयो ।
पहिलो चरणको निर्वाचनका लागि तयारीमा रहेका दलहरु दोश्रो चरणमा चुनाव हुने भएपछि चुनावी अभियानलाई विश्राम दिन थालेका छन् । बैतडीमा दोश्रो चरणमा निर्वाचन हुने भएपछि उम्मेद्वार छनौटको कसरतमा लागिरहेका दलहरु अब विस्तारै उम्मेद्वार छान्ने मनस्थितीमा पुगेका छन् ।

जेठ ३१ मा चुनाव हुनेभएपछि उम्मेद्वार छनौट प्रक्रिया विस्तारै थाल्ने नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले बताउनुभयो । यस्तै राप्रपाले पनि उम्मेद्वार छनौट कार्यलाई विस्तारै गर्ने जनाएको छ ।

पहिलो चरणमा बैतडीमा चुनाव नहुने भएकाले दोश्रो चरणका लागि विस्तारै उम्मेद्वारको टुंगो लगाउने राप्रपाका जिल्ला सचिव प्रजापति जोशीले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट(आदित्यलेसरकारले चुनावको मिती सार्नुभन्दा पहिले नै बैतडीका दश स्थानिय तहमा उम्मेद्वार घोणणा गरिसकेकाले अहिले प्रचारप्रसारमा जुटेको बताउनुभयो ।

जिल्लाका १० ओटै स्थानीय तहमा मेयर,उपमेयर, अध्यक्ष र उपाध्यक्षका उम्मृेद्वारको टुंगो लगाएको एमाले र माओवादी केन्द्रले पनि चुनावी गतिविधिमा सुस्तता आएको बताउनुभयो ।

आफ्नो पार्टीले चुनावी गतिविधिलाई कम नगरेपनि सरकारले चुनाव नै नगर्ने हो कि भन्ने आशंका जन्माएको एमाले बैतडीका सचिव लिलाधर भट्टले बताउनुभयो ।

सरकारले दोश्रो चरणमा निर्वाचन गर्ने भएपछि गाउँघरमा बढेको चुनावी सरगर्मी एक्कासी घटेको दोगडाकेदार ३ श्रीकोटका बीर सिंह भाटको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्