कोलकाता शीर्षमा



नयाँ दिल्ली, (एजेन्सी)
रवीन उथप्पाले विस्फोटक ब्याटिङ गरेपछि कोलकाता नाइट राइडर्स आईपीएल १० को अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ।

उथप्पाकै ब्याटिङको सहयोगमा कोलकाताले बुधबार राति भएको खेलमा राइजिङ पुणे जायन्टलाई ७ विकेटले हराएको हो। उनले ४७ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ८७ रन बनाए। कोलकाताका लागि पुणेले दिएको १ सय ८३ रनको विशाल लक्ष्य उनकै कारण सहज बनेको थियो। कोलकाताले ११ बल बाँकी राखी आठौं खेलमा छैटौं जित हात पारेको थियो। उथप्पालाई पुणेको खराब फिल्डिङबाट पनि फाइदा मिलेको थियो। उनले १२ रनमा हुँदा जीवनदान पाएका थिए। यसपछि उथप्पाले ३५ बलमा थप ७५ रन जोडे। यसअघि फिल्डिङमा समेत उथप्पाले विकेटकिपरका रूपमा पुणेका तीन खेलाडीलाई स्टम्प आउट गरेका थिए। उनी म्यान अफ द म्याच घोषित भएका थिए।

कोलकाताका लागि उथप्पाबाहेक कप्तान गौतम गम्भीरले पनि कप्तानीको भूमिका खेलेका थिए। उनले ४६ बलमा ६२ रन बनाउनुका साथै उथप्पासँग ४ दशमलव १ ओभरमा १ सय ५८ रनको साझेदारी पनि गरेका थिए। गम्भीरको टी–२० मा ५०औं अद्र्धशतक थियो। उनले जारी आईपीएलमा कुल ३ सय ५ रन बनाइसकेका छन्। हाल उनी प्रतियोगितामा सबैभन्दा सफल ब्याटसम्यानसमेत हुन्।

यसअघि पुणेले घरेलु मैदानमा टस गुमाएर ब्याटिङ गरेको थियो। टोलीले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १ सय ८२ रनको योगफल बनाएको थियो। कप्तान स्टिभ स्मिथ ५१ रनमा नटआउट रहेर शीर्ष स्कोरर बने भने आजिन्क्य रहाणे ४ रनले अद्र्धशतक बनाउन चुकेका थिए।

प्रतिक्रिया दिनुहोस्