रियल म्याड्रिड र बार्सिलोनाद्वारा गोल वर्षा



लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियल मेड्रिड र बार्सिलोनाले गोल वर्षा गरेका छन्।

रियलले घरेलु टोली डेपोर्टिभो ला कोरुनालाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाले ओसासुनालाई ७–१ गोल अन्तरले हराएको थियो। रियलको जितमा क्रिस्टियानो रोनाल्डो, गेरेथ बेल, करिम बेन्जेमा, मोड्रिचलगायतका स्टार खेलाडीलाई विश्राम दिइएको थियो। सो खेलमा रियलका युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

रियलको शानदार जितमा खेलको पहिलो मिनेटमै अल्भारो मोराटाले गोलको खाता खोलेका थिए। यस्तै रोड्रीग्वेजले खेलको १४औं मिनेटमा गोल गर्दै मेड्रिडको अग्रता दोब्बर बनाए। तर फ्लोरिन आन्डोनेले खेलको ३५औं मिनेटमा गोल गरेपछि घरेलु टोलीले खेलमा फर्कने छाँटकाँट देखाएका थिए। लुकास भाज्केजले ४४औं मिनेटमा गोल गर्दै हाफ पहिलो हाफसम्म मेड्रिडलाई ३–१ गोलले अगाडि पारे।

दोस्रो हाफमा पनि मेड्रिडले तीन गोल थप्दा डेपोर्टिभोले एक गोल फर्काउन सफल भए। रियलका तर्फबाट रोड्रीग्वेजले खेलको ६६औं मिनेटमा गोल गर्दै आफ्नो व्यक्तिगत गोलसंख्या दुई पुर्याए। यस्तै रियलका इस्कोले ७७औं मिनेटमा पाँचौं गोल गर्दा ८४औं मिनेटमा घरेलु टोलीका लागि होसेलुले दोस्रो गोल फर्काए। यता खेल सकिन तीन मिनेट बाँकी छँदा कासेमिरोले गोल गरेपछि रियलको छैठौं गोल सम्भव भयो।

त्यस्तै बार्सिलोनाको जितमा लियोनेल मेसी, आन्द्रे गोमेज र आलासेरले समान दुई–दुई गोल गर्दा मास्चरानोले पेनाल्टीमार्फत एक गोल गरेका थिए। मेसीको बार्सिलोनाका लागि ५ सय २ गोलसंख्या पुगेको छ। यता ओसासुनाका लागि टोरेसले खेलको ४८औं मिनेटमा एक गोल फर्काएका थिए। यस्तै अन्य खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हराउँदा लेगानेसले पनि लस पल्मासलाई ३–० ले पाखा लगाए।

दूरी घट्दै
जितसँगै बार्सिलोना ३४ खेलबाट ७८ अंकसहित शीर्ष स्थानमा रहेको छ। उपाधि जित्न नजिकिएको स्थितिमा बार्सिलोनाले रियल मेड्रिडलाई गोलभिन्नताको आधारमा दोस्रो स्थानमा धकेलेको छ। रियल मेड्रिडले बार्सिलोनाभन्दा एक खेल कम खेल्दै ७८ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको एथ्लेटिको मेड्रिडको ६८ अंक छ। यस हिसाबले उपाधि होडमा बार्सिलोना र रियल मेड्रिड मात्रै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्