‘केबल सिग्नल बन्द हुने समाचार भ्रामक’



काठमाडौं, (नेस)
सूचना तथा सञ्चार मन्त्रालयले वैशाख १५ गते देखि केवल टेलिभिजनहरू बन्द हुने भन्ने समाचार भ्रामक र झुठो भएको जनाएको छ। मन्त्रालयले केवल सिग्नल बन्द नहुने स्पष्ट पारेको छ।

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यमहरूबाट २०७४ वैशाख १५ गतेदेखि एनालग केवल टेलिभिजनहरू बन्द हुनेजस्ता भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण भइरहेको भन्दै यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ। मन्त्रालयले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै एनालग केबुल टेलिभिजनको सिग्नल बन्द हुने समाचार भ्रामक र झुठो भएको बताएको छ।

मन्त्रालयले एनालग प्रविधिमा इजाजत प्राप्त केवल नेटवर्कहरूलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने नीति अबलम्बन गरिएको छ।

यसअन्र्तगत वैशाख १५ गते देखि काठमाडौं, ललितपुर, पोखरा, विराटनगर र विरगन्ज उपमहानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिका केवल नेटवर्कहरूले अनिवार्य डिजिटल प्रविधिको प्रणालीमा रूपान्तरण गरिसक्नुपर्नेछ।

मन्त्रालयले एनालग प्रणालीको हेडइन्ड भएका एनालग केवललाई सग्निल वितरण नगर्नसमेत अनुरोध गरेको छ। साथै केबुल टेलिभिजन उपभोक्ताहरूले आ–आफनो केवल टेलिभिजन डिजिटल प्रविधिमा रूपान्तरण नभएको भए केवल नेटवर्क सञ्चालकलाई जानकारी गराइ गुणस्तरीय डिजिटल सिग्नल लिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्