९ महिनामा व्यापारघाटा ६ खर्ब ७० अर्ब



हेमन्त जोशी, काडमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालू आर्थिक वर्षको ९ महिनामा व्यापारघाटा ब ६ खर्ब ७० अर्ब ६९ करोड ८० लाखभन्दा बढी पुगेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल निर्यातको अनुपातका आयात अघिल्लो महिनाको तुलनामा शून्य दशमलब २ गुणाले बढेर १३ दशमलब २ गुणा बढीे छ। जुन अनुपात अघिल्लो वर्षको सोही अवधिसम्म १० दशमलव ६ गुणाले बढी रहेको थियो। भन्सार विभाग तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यका अनुसार चालू आर्थिक वर्षको कुल वैदेशिक व्यापारमा ९२ दशमलब ९ प्रतिशत आयात र ७ दशमलब १ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ।

नेपालले ७ खर्ब २५ अर्ब ८४ करोड २२ लाख रुपियाँ बराबरको आयात गर्दा ५५ अर्ब १४ करोड ४२ लाख २७ हजार रुपियाँ बराबरमात्र निर्यात गरेको छ। जुन परिमाण गत वर्षको सोही अवधिसम्मको आयात को तुलनामा ३९ दशमलब ५७ प्रतिशत र निर्यातको तुलनामा १२ दशमलब २ प्रतिशतले बढी हो। गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको मात्रा १८ दशमलब २३ प्रतिशतले बढेको छ भने आयात १ दशमलब ७२ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

चालू आर्थिक वर्षको कुल वैदेशिक व्यापार ७ खर्ब ८० अर्ब ९८ करोड ६५ लाख रुपियाँ रहेकोमा चैत महिनामा मात्र शून्यदेखि ८० प्रतिशत भन्सार दर भएका विभिन्न वस्तु आयात भएका छन्। यसमा ५ देखि १० प्रतिशत भन्सार दर लाग्ने वस्तुको आयात उच्च देखिएको छ। कुल आयातमा यस्ता वस्तुले २५ दशमलब ९५ प्रतिशत स्थान ओगटेको छ। देशको सबैभन्दा ठूलो नाका वीरगन्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलब शून्य ३ प्रतिशत आयात र २० दशमलब ९८ प्रतिशत निर्यात भएको छ। वीरगन्ज नाकाबाट २ खर्ब ४६ अर्ब ९६ करोड ६१ लाख ४० हजार रुपियाँ बराबर आयात र ११ अर्ब ५६ करोड ८७ लाख रुपियाँ बराबरको निर्यात भएको छ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमास्थल त्रिभुवन विमानस्थलबाट ९२ अर्ब १० करोड ४० लाख रुपियाँ बराबरको आयात र १५ अर्ब ७७ करोड ६ लाख रुपियाँ बराबरको निर्यात भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कुल वैदेशिक व्यापारमा निर्यात २८ दशमलव ६० प्रतिशत र आयात १२ दशमलब ६९ प्रतिशत हो। यस अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयातमा तेस्रो ठूलो र निर्यातमा पहिलो भन्सार कार्यालय बन्न पुगेको छ। दुई वटा भन्सार जनकपुर र सिराहाबाट भने निर्यात शून्य देखिएको छ। अघिल्लो महिनासम्म निर्यात शून्य रहेको जलेश्वर भन्सार कार्यालयले चैत महिनामा १ लाख ७० हजार रुपियाँ बराबरको निर्यात भएको छ।

नेपालले यस अवधिमा भारतसंँगमात्र ६४ दशमलब ३८ प्रतिशत वैदेशिक व्यापार गरेको छ। फागुन मसान्तसम्म ४ खर्ब ३५ अर्ब ९२ करोड ३१ लाख रुपियाँ बराबरको भारतसँगको व्यापार गरेकोमा चैत मसान्तसम्ममा ५ खर्ब २ अर्ब ८३ लाख रुपियाँ बराबर व्यापार गरेको छ। यस अनुपातमा हेर्दा भारतसंँग नेपालको व्यापारघाटा ४ खर्ब ३८ अर्ब ८६ करोड ३० लाख रुपियाँ पुगेको छ। त्यस्तै नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने देश चीनसंँग कुल वैदेशिक व्यापार ९६ अर्ब ९ करोड ६१ लाख रुपियाँ रहेकोमा व्यापारघाटा ९३ अर्ब ५१ करोड ६३ लाख रुपियाँ रहेको छ। युएई नेपालसंँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुक बनेको छ। २३ अर्ब ९४ करोड ८६ लाख बराबरको दुई देशको व्यापारमा नेपालको व्यापारघाटा २३ अर्ब ७९ करोड ७७ लाख रुपियाँ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्