काठमाडौं, (नेस)
नेपाली कांग्रेसका युवा नेता श्यामबहादुर खड्काले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बूढानीलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित निर्वाचनमा दाबेदारी प्रस्तुत गरेका हुन्। खड्का नेपाली कांग्रेसका निर्वाचित महाधिवेशन प्रतिनिधिसमेत हुन।
विष्णु–बुद्ध परिक्रमाका लागि बुढानिकलण्ठ र कपन जोड्ने सडक निर्माणलाई मुख्य योजनाका रूपमा अघि सारेका खड्का यस क्षेत्रका सक्रिय युवा नेता मानिन्छन्। धार्मिक पर्यटनका लागि आन्तरिक र बाह्य प्रचारप्रसार र शान्ति सुव्यवस्थालाई आफ्नो चुनावी नारा बनाउने घोषणा गर्दै उनले मेयरको दाबेदारी दाबी गरेका हुन्। शिवपुरी राष्ट्रिय निकुञ्जको विकास, बुढानिकलण्ठमा रहेका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन तथा नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण र मिचिएका जग्गा फुकुवाका लागि पहल गर्ने बताएका छन्।
त्यस्तै बागद्वार क्षेत्रको संरक्षण र विकासका लागि बेग्लै गुरुयोजनासहितको कार्यक्रम ल्याउने उनको योजना छ। ‘यस क्षेत्रको विकाससँगै दीर्घकालीनरूपमा आर्थिक निर्भर बनाउन आवश्यक योजना र त्यसको कार्यान्वयनमा मेरो जोड हुनेछ, रोजगार, अवसर र विकास एकसाथ अघि बढ्नेछ’ –उनको घोषणापत्रमा उल्लेख छ।
खड्का २०४६ सालको जनआन्दोलनमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा होमिएका थिए। आन्दोलनको सफलतापछि तत्कालीन बूढानीकलण्ठ गाविसको वडा संयोजक र विष्णु बूढानीलकण्ठको इकाइ सदस्य बनेका थिए। त्यस्तै नेपाली कांग्रेस बाह्रौं महाधिवेशनमा निर्वाचित प्रतिनिधि र संगठन विभाग सदस्य बनेका उनले संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ सहित अन्यत्र पनि युवा परिचालनको नेतृत्व लिएका थिए।