नौ प्रतिशतले मात्र शुरु गरे पुनर्निर्माण, १ सय ३३ घर भवनसंहिता विपरीत



नानीराम नेपाल, सिन्धुपाल्चोक
विनाशकारी भूकम्पको दुई वर्ष बित्नै लाग्दा पनि सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिन सकेको छैन। कागजी रूपमा पुनर्निर्माणको प्रक्रियामा प्रगति नै देखिए पनि गाउँबस्तीमा पुनर्निर्माणको काममा कछुवा गति देखिएको छ। निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता भएकामध्ये लगभग शतप्रतिशतले नै पहिलो किस्ताको रकम पाएका छन्।

अनुदान सम्झौता १२ परिवारबाहेक सवै लाभग्राहीका खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको जिल्ला आयोजना कार्यान्वायन इकाइले जानकारी दिएको छ। तर पुनर्निर्माणको काम भने सुस्त देखिएको छ। शत प्रतिशतले अनुदानको पहिलो किस्ता पाए, तर पुनर्निर्माण शुरु गर्ने ९ प्रतिशत मात्रै छन्।

अनुदान लिएर पनि ९१ प्रतिशत लाभग्राहिले पुनर्निर्माण शुरु नै गरेका छैनन्।
अनुदान सम्झौता भएका ७४ हजार ९ सय २४ लाभग्राहीमध्ये ७४ हजार ९ सय १२ को बैंक खातामा पहिलो किस्ता निकासा भइसकेको छ। लाभग्राहीका बैंक खातामा पहिलो किस्ता निकाशा भइसके पनि पुनर्निर्माणमा अझै पनि ‘कछुवा गति’ नै देखिएको छ। पहिलो किस्ता प्राप्त गर्नेमध्ये ९१ प्रतिशतले घर बनाउन शुरु नै गरेका छैनन्। पहिलो किस्ता वितरण र पुननिर्माणको पछिल्लो सरकारी विवरण हेर्दा हालसम्म ९ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण शुरु गरेका छन्।

पहिलो किस्ता लिनेमध्ये ७ हजार २ सय ३२ ले मात्र घर निर्माणको काम शुरु गरेका हुन्। ‘लगभग शतप्रतिशतले पहिलो किस्ता पाइसके, तर पुननिर्माण शुरु गर्ने ९ प्रतिशत मात्रै छन्’, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर टंक गौतमले भने। पहिलो किस्ताको रकम प्राप्त गर्न अब जिल्लाका १२ जना मात्र बाँकी रहेको उनले बताए।

पुनर्निर्माण शुरु गर्नेमध्ये २ हजार १ सय ६७ ले दोस्रो किस्ताका लागि निवेदन दिएका छन्। तर त्यसमध्ये १ हजार ९२ लाई मात्र दोस्रो किस्ताका लागि प्रमाणिकरण गरिएको छ। पहिलो किस्ताको काम सम्पन्न गरेकामध्ये १ सय २९ घर भवनसंहिताअनुसार नभएका कारण प्रमाणीकरण हुन सकेको छैन। त्यस्तै विभिन्न गाउँपालिकाका गरी १ सय १४ ले तेस्रो किस्ताका लागिसमेत निवेदन दिइसकेका छन्। तर सोमध्ये ४५ लाई मात्र प्रमाणीकरण गरिएको छ। तेस्रो किस्ताका लागि निवेदन दिनेमध्ये ४ घर भवन संहिताअनुसार नभएका कारण प्रमाणीकरण नगरिएको इन्जिनियर गौतमले जानकारी दिए। भवनसंहिताअनुसार नभएका घरहरूलाई प्रवलीकरणपछि दोस्रो किस्ताका लागि सिफारिस गरिने इन्जिनियर गौतमले जानकारी दिए।

सरकारी विवरण हेर्ने हो भने भूकम्पको दुई वर्षको अवधिमा जम्मा ७२ वटा मात्र घर निर्माण भएका छन्। पहिलो किस्ता लिएर जिल्लाका ७२ जनाले घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वायन इकाइले जानकारी दिएको छ। तर प्राविधिक सल्लाहबिना नै पीडितहरू आफैंले पनि घर निर्माण गरेका छन्। यसबीचमा १ हजार ४ सय ५३ वटा घर भूकम्पपीडित आफैंले बनाएका हुन्। पुनर्निर्माणमा सघाउन प्राविधिकहरू गाउँ–गाउँमा खटाइएपनि भवन संहिताबारे उनीहरूले पीडितहरूलाई जानकार बनाउन नसकेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्