१० वर्षमा गतिशील राष्ट्र बनाइने



रामकृष्ण चापागाईं, काठमाडौं
सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा आर्थिक समृद्धिलाई जोड दिँदै नेपाललाई आगामी १० वर्षभित्र एउटा गतिशील राष्ट्र बनाउने गरी नेपाली कांग्रेस अघि बढ्ने जनाइएको छ। यसका लागि कम्तीमा पनि एक दशकसम्म वार्षिक ७ देखि १० प्रतिशतसम्मको उच्च आर्थिक वृद्धि दर निरन्तर हासिल गर्दै हरेक वर्ष ३ देखि ५ लाख रोजगारीका अवसर सिर्जना गर्ने जनाइएको छ।

बलियो राज्य, निजी उद्यम र विधिको शासनको प्रत्याभूति नभई सिंगो मुलुकको समृद्धिको कल्पना गर्न नसकिने अठोटका साथ कांग्रेसले स्थानीय तहमा उद्यमशीलताको लहर ल्याउन युवाहरूको सीप विकास गर्दै कृषि, ऊर्जा, साना तथा मझौला उद्योगहरू र पर्यटकीय गतिविधिहरूको विस्तारका लागि पनि विशेष जोड दिने घोषणापत्रमा उल्लेख गरिएको छ। उन्नत बीउ, कर्जा र बीमा, वैकल्पिक ऊर्जा, साना जलविद्युत् र सिँचाइका आयोजनाहरूमार्फत उत्पादकत्व बढाउनु कांग्रेसको लक्ष्य हुने घोषणपत्रमा उल्लेख छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो। ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ जारी गरिएको घोषणापत्रमा स्थानीय तहको चुनावका लागि केही नारा पनि तय गरिएको छ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि ‘मतदान गर्दा द्वेष होइन, मित्रता रोजौं’, ‘समाजको विभाजन होइन, एकता रोजौं’, ‘अतिवाद होइन, समृद्धि र मध्यमार्ग रोजौं’, ‘शान्ति, लोकतन्त्र र नेपाली कांग्रेस रोजौं’ जस्ता नारा तय गरेको छ।

कांग्रेसले सार्वजनिक गरेको घोषणा–पत्रमा विगतमा गरेको काम, नीतिगत निर्णयको कारण विगतमा भएको परिर्वतनको लेखाजोखा पनि गरिएको छ। साथै भावी दिनमा स्थानीय निकायलाई व्यवस्थित र अझ अधिकार सम्पन्न पार्न गरिने कामको परिकल्पना पनि गरिएको छ। तीन खण्डमा बाँडिएको घोषणा–पत्रमा कांग्रेसको राजनीतिक पृष्ठभूमि, ऐतिहासिक विरासत, उपलब्धि र स्थानीय सरकार तथा हाम्रो संकल्प भनेर उल्लेख गरिएको छ।

पहिलो खण्डमा स्थानीय स्वायत्त शासन, समसामयिक राजनीति र अबको एजेण्डालगायतका विषयवस्तु समेटिएको छ भने दोस्रो खण्डमा नेपाली कांग्रेसले विगतमा पुर्याएको योगदानको चर्चा गरिएको छ। तेस्रो खण्डमा स्थानीय सरकार र हाम्रो संकल्प शीर्षकमा कांग्रेसले आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन वातावरण संरक्षण र सुशासन प्रत्याभूतिको संकल्प पेस गरेको छ। स्थानीय निर्वाचनका लागि तयार पारेको घोषणा–पत्रमा कांग्रेसले गाउँ र नगरका युवाहरूलाई प्रोत्साहन दिई स्वरोजगारको प्रवद्र्धन गर्न ‘युवा उद्यम चुनौती कोष’को कार्यान्वयन गर्ने जनाएको छ भने कृषकलाई सूचना दिन प्रत्येक गाउँ तथा नगरपालिकामा अत्याधुनिक ‘ई–चौतारी’को स्थापना गरिने जनाएको छ।

‘ई–चौतारी’को माध्यमबाट मौसम, बाली र प्रविधि प्रयोगजस्ता कृषिसम्बन्धी सूचना, बजारमूल्यलगायत अन्य सूचनाहरू आधुनिक प्रविधिको प्रयोगमार्फत जनतासमक्ष पुर्याउने व्यवस्था गरिने घोषणा–पत्रमा उल्लेख छ। हरेक गाउँ र नगरमा पारदर्शितालाई प्रोत्साहित गर्न ओपन डाटाको लोकतान्त्रिक संस्कार विकसित गरिने पनि कांग्रेसले जनाएको छ।

घोषणापत्रमा कांग्रेसले प्रत्येक गाउँपालिकामा १५ शय्याको अस्पताल, नगरपालिकामा २५ देखि ५० शय्याको अस्पताल स्थापनाको प्रतिबद्धता जनाएको छ। निःशुल्क डायलेसिस र महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय स्तरसम्म विस्तार गर्ने पनि घोषणा–पत्रमा उल्लेख गरिएको छ। आफ्नो घोषणा–पत्रमा स्वास्थ्यलाई महत्त्व दिएको कांग्रेसले सबै गाविसमा स्वास्थ्य संस्था स्थापना गर्ने र प्रत्येक वडामा तलबी नर्स स्वयंसेवक खटाएर सुरक्षित मातृत्व तथा शिशु स्वास्थ्य उपचारको व्यवस्था गर्ने तथा प्रत्येक नागरिकको स्वास्थ्य बीमा गर्ने जनाएको छ।

कांग्रेसले घोषणा–पत्रमा सामाजिक सुरक्षामा उल्लेख्य वृद्धि गर्ने र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख गरेको छ। साथै हरेक गाउँपालिकामा एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम स्थापना गर्ने बताएको छ। त्यस्तै १० वर्षभित्र शिशु मृत्यु दरलाई ५ वर्षभन्दा कम र मातृ मृत्युदरलाई प्रति १ लाखमा ५० भन्दा कममा झार्ने अठोट पनि घोषणा–पत्रमा उल्लेख गरिएको छ। कांग्रेसले घोषणा–पत्रमा महानगरमा फ्लाइओभर, टनेल मार्ग र आकाशेपुलका साथै सम्भाव्य स्थलमा मोनो रेल निर्माण गर्ने पनि जनाएको छ।

आगामी १० वर्षभित्र भोकमरी र कुपोषण अन्त्य गर्ने र गरिबीको रेखामुनि रहेका जनताको संख्यालाई ३ प्रतिशतभन्दा तल झार्ने संकल्प गरेको कांग्रेसले संघीय बजेटको आधाभन्दा बढी प्रदेश र स्थानीय सरकारमा सोझै पठाउने प्रतिबद्धता पनि जनाएको छ। स्थानीय तहमै जनताको माग र आवश्यकताअनुसार आयोजना छनोट र निर्माण प्रभावकारी बनाउने, महत्त्वपूर्ण स्थानीय परियोजानामा बहुवर्षीय बजेटको प्रतिबद्धता गरिनेसमेत कांग्रेसले जनाएको छ।
कांग्रेसले स्थानीय सरकारको ५ वषभित्र १५ देखि २४ वर्ष उमेर समूहका सबै नेपालीलाई साक्षर बनाउने प्रतिबद्धता गरेको छ। साथै माध्यमिक तहसम्म शिक्षा पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय बनाउने जनाएको छ। कांग्रेसले १२ कक्षाको अन्तिम परीक्षामा सहभागी १ लाख युवालाई तरुण सीपवृत्ति योजनाअन्तरगत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने व्यवस्था मिलाउने तथा सामुदायिक आवासीय विद्यालय निर्माण गर्ने गरी त्यहाँ अति विपन्न बालबालिकाको सबै खर्च बेहोर्ने पनि घोषणा–पत्रमा उल्लेख गरिएको छ।

कांग्रेसले आफ्नो घोषणा–पत्रमा अन्य दलहरूको कडा आलोचना पनि गरेको छ। संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै रहेको भन्दै कांग्रेसले अहिले संसद्मा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको आरोप लगाएको छ। पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखाएको आरोप पनि कांग्रेसले लगाएको छ।

सत्तामा रहुन्जेल नेकपा एमालेले संविधान संशोधनद्वारा संविधानसम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाईसमेत सहजै समर्थन नगरेको भन्दै एमालेको अतिवादी राजनीतिक अडानले तराई–मधेसको आन्दोलन झनै चर्को बन्दै गएको जनाएको छ। एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रक्रियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुवैलाई संविधान निर्माणको काममा एक ठाउँमा राख्नसकेको कांग्रेसले दाबी गरेको छ।

देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला माओवादी केन्द्रले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको कांग्रेसले आरोप लगाएको छ। माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो माओवादी केन्द्रभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको भन्दै कांग्रेसले माओवादी केन्द्रको यो ढुलमुले प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको जनाएको छ। माओवादीको यो ढुलमुले चरित्रका कारण सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाईसमेत कमजोर बनाएको कांग्रेसको आरोप छ।

आफ्नो घोषणा–पत्रका कांग्रेसले मधेस केन्द्रित दलहरूलाई पनि कटाक्ष गर्दै मधेसकेन्द्रित दलहरूले मधेसका जनतालाई सधैं निर्मम आन्दोलन र क्षतिमा होमेर राजनीतिक संवाद र सहमतिलाई कहिल्यै परिणाममुखी बन्न नदिएको जनाएको छ। साथै आन्दोलनलाई सामाजिक सद्भाव बिग्रने सीमासम्म फैलिन दिएर मधेसकेन्द्रित दलहरूले मधेसमा अतिवादी सोच र प्रवृत्तिलाई बल पुर्याएर गम्भीर गल्ती गरिरहेको आरोप पनि कांग्रेसले लगाएको छ।

घोषणापत्रमा मधेसी जनताको अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, भाषा–संस्कृतिको सम्मान र विकास एवं रोजगारीका मुद्दालाई नेपाली कांग्रेसले लोकतान्त्रिक विधिबाट सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। कांग्रेसले नयाँ संविधानलाई निष्ठाका साथ स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी सत्ता राजनीतिको दलदलमा फसाउँदै ल्याएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्